लाल बिहारी यादव, सिरहा दर्पण | लहान
सिरहाको सुखीपुर नगरपालिका–८ मा थारु सांस्कृतिक सङ्घ नेपाल, सुखीपुर नगर समितिको आयोजनामा ‘सामा चकेवा महोत्सव–२०८३ सुरु भएको छ। ‘जय थारु, जय नेपाल–आपन संस्कृति, आपन पहिचान’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवले थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनसँगै सामाजिक सद्भाव र भाइबहिनीबीचको प्रेमलाई उजागर गरेको छ।
संस्थाका अध्यक्ष राजकुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनगढीमाई नगरपालिकाका पूर्वनगर प्रमुख हरिनारायण चौधरी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा थारु कल्याणकारिणी सभा धनगढीमाईका अध्यक्ष शम्भुप्रसाद चौधरी, सुखीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरज यादव, विभिन्न वडाका वडाध्यक्ष, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय अगुवाहरूको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्वनगर प्रमुख हरिनारायण चौधरीले सामा चकेवा पर्वले भाइबहिनीबीचको प्रेम, पारिवारिक सम्बन्ध, सामाजिक सद्भाव र प्रकृतिको संरक्षणको सन्देश दिने बताए। संस्कृति संरक्षण र प्रवर्द्धनका लागि महोत्सव आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै उनले शिक्षा विकासको पहिलो आधार भएकाले शिक्षालाई केन्द्रमा राखेर संस्कृतिको विकास र संरक्षण गर्नुपर्नेमा जोड दिए। समाजमा विविधता र सद्भाव बिगार्न खोज्ने प्रवृत्तिप्रति पनि सचेत रहनुपर्ने उनको भनाइ थियो।
थारु कल्याणकारिणी सभा धनगढीमाईका अध्यक्ष शम्भुप्रसाद चौधरीले सुखीपुरको यस आयोजकसंस्था र थारु समुदायले जिल्लाभरिका थारुहरूलाई एकत्रित गरी सामा चकेवा महोत्सव आयोजना गर्नु सकारात्मक पहल भएको बताए।सामा चकेवा र जितियाजस्ता पर्व अन्य समुदायले पनि मनाउने गरे तापनि थारु समुदायका लागि यी पर्वको आफ्नै ऐतिहासिक र सांस्कृतिक महत्त्व रहेको उल्लेख गर्दै उनले इतिहास र पहिचान जोगाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।
वक्ता तेजनारायण चौधरीले थारु समुदायको विधानमै थारु तथा गैरथारु सबै समुदायको संस्कृति संरक्षण गर्ने उद्देश्य समेटिएकाले त्यसलाई व्यवहारमा उतार्न आफूहरू प्रतिबद्ध रहेको बताए। रामप्रसाद चौधरीले सामा चकेवा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमको प्रतीक भएको उल्लेख गर्दै समाजमा विकृति फैलाउने पात्रलाई प्रतीकात्मक रूपमा ‘चुगला’ का रूपमा चित्रण गरिएको बताए।
समाजसेवी ललिता चौधरीले सामा चकेवा महोत्सवले महिलालाई प्रोत्साहन र सम्मान गर्ने वातावरण निर्माण गरेको बताइन्। छठ पर्वको पारणदेखि पूर्णिमासम्म मनाइने यस पर्वमा टोलटोलमा सामा चकेवा खेल्दै अन्तिम दिन नदी वा पोखरीमा विसर्जन गर्ने परम्परा रहेको उनले बताइन्। चुगलाको प्रतीक बनाएर जुँगा जलाउने परम्पराले समाजमा गलत प्रवृत्ति र व्यक्तिहरूलाई निरुत्साहित गर्नुपर्ने सन्देश दिने उनको भनाइ थियो। छोरी माइत आउँदा लामो समय बसेको भन्दै नकारात्मक टिप्पणी गर्ने सामाजिक सोच गलत भएको उल्लेख गर्दै उनले महिला र छोरीप्रति सम्मानजनक व्यवहार गर्न सबैलाई आग्रह गरिन्।
प्राध्यापक मुखीलाल चौधरीले सामा चकेवा दाजुभाइ तथा दिदीबहिनीबीचको ममता, माया र स्नेहको अनुपम प्रतीक भएको बताए। उनले परम्परागत रूपमा प्रयोग हुँदै आएका धानका जुटी र सिक्कीका डालीजस्ता सामग्री लोप हुँदै गएकाले तिनको संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी, थारु संस्कृति संरक्षक सङ्घ नेपाल सप्तरीका प्रतिनिधि तेजनारायण चौधरीले थारु समुदायले यस क्षेत्रको मौलिक संस्कृतिलाई उजागर गर्दै सामाजिक भाइचाराको सम्बन्ध बलियो बनाउने काम गरिरहेको बताए। सुखीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरज यादवले सामा चकेवा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयताको प्रतीक भएको धारणा राखे।
मुक्ति सिंहले थारु समुदायको आयोजनामा भएको कार्यक्रमले सबै समुदायको साझा सांस्कृतिक संरक्षणको सन्देश दिएको भन्दै थारु पहिचान झल्काउने परम्परागत शृंगार र पहिरनको प्रशंसा गरे। सुखीपुर नगरपालिका–१ का वडाध्यक्ष राजेन्द्रप्रसाद चौधरीले सामा चकेवा साझा पर्व भएकाले यसलाई शिक्षा, स्वास्थ्य र सामाजिक विकाससँग जोड्नुपर्ने बताए। उनले सांस्कृतिक पहिचानसँगै राजनीतिक एकता र नेतृत्व विकासमा पनि थारु समुदायले ध्यान दिनुपर्ने धारणा राखे।
महोत्सवको विशेष आकर्षण थारु तथा मैथिली संस्कृतिमा आधारित गीत, सङ्गीत र नृत्यका प्रस्तुतिहरू रहेका थिए। विभिन्न सांस्कृतिक समूहले मौलिक भेषभूषा, परम्परागत बाजागाजा र लोकगीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।
करिब ६०/६५ वर्ष उमेरका महिलाहरूको समूहले प्रस्तुत गरेको सामूहिक कोरस गीतले कार्यक्रमलाई थप रोचक बनाएको थियो। फरक सुर, ताल र मौलिक आवाजसहित प्रस्तुत गीतले दर्शकको ध्यान आकर्षित गरेको थियो। त्यस्तै, विभिन्न प्रतियोगितामा विजेता हुँदै आएको राधाकृष्ण सांस्कृतिक टोलीले पनि आकर्षक प्रस्तुति दिएको थियो
सन्तनगरको धुम्रानाच टोलीका ६०–७० वर्ष उमेरका कलाकारहरूले थारु परम्परागत बाजागाजासहित सामा चकेवामा आधारित सामाजिक गीत प्रस्तुत गरेका थिए। उमेरले पाको भए पनि कलाकारहरूको उत्साह र मौलिक प्रस्तुतिले दर्शकको प्रशंसा बटुलेको थियो।
त्यसैगरी, धनगढीमाई–३ र लहान–१ का कलाकार सम्मिलित भाइरल टोलीले धोती–कुर्ता भने गीतमा मिथिलाको मौलिक पहिरन धोती कुर्तामा आकर्षक नृत्य प्रस्तुत गरेको थियो। माता जानकी, भगवान् श्रीराम र जनकपुरधामलाई मिथिलाको शानका रूपमा चित्रण गर्दै प्रस्तुत थारु गीतले आफ्नो संस्कृति, देश र मधेशको पहिचान उजागर गरेको थियो। राष्ट्रिय झण्डा र राष्ट्रिय एकताको सन्देशसमेत समेटिएको गिती प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति दिने टोलीहरूलाई सुमन एजुकेसन एकेडेमीले पुरस्कृत समेत गरेको थियो।
आयोजक संस्थाका अध्यक्ष राजकुमार चौधरीले महोत्सवमार्फत थारु समुदायको ऐतिहासिक पहिचान, मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्य रहेको बताए। उनका अनुसार महोत्सव उद्घाटनसँगै सुरु भएको कार्यक्रम आगामी मंसिर ९ गते बुधबार सुखीपुर नगर परिक्रमा गरी समापन गरिनेछ।
महोत्सवले थारु समुदायको सांस्कृतिक पहिचान संरक्षण गर्नुका साथै विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको छ।















