लालबिहारी यादव, सिरहा दर्पण, लहान।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिरहाले यस वर्ष पनि इन्टर स्कुल क्रिकेट लिग (आईसीएल) को सिजन–३ आयोजना गर्ने घोषणा गरेको छ। प्रतियोगिता २०८३ साल मंसिर २४ गतेदेखि सुरु हुने जानकारी प्याब्सनले पत्रकार सम्मेलनमार्फत दिएको हो।
लहानस्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्याब्सन सिरहाका जिल्ला अध्यक्ष उमेश चौधरीले प्रतियोगितालाई मर्यादित, व्यवस्थित र उत्सवमय वातावरणमा सञ्चालन गरिने बताए। खेलकुद शिक्षाको महत्वपूर्ण पाटो भएकाले पढाइसँगै खेलकुदलाई पनि अगाडि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ थियो।
अध्यक्ष चौधरीका अनुसार यस वर्षको प्रतियोगितामा सहभागी हुन चाहने निजी तथा सामुदायिक दुवै विद्यालयका विद्यार्थीले अवसर पाउनेछन्। यसअघि निजी विद्यालयका विद्यार्थी मात्र सहभागी हुँदै आएकोमा यस वर्ष सामुदायिक विद्यालयलाई समेत समेट्न लागिएको हो। उनले सबै विद्यालयलाई प्रतियोगितामा सहभागी हुन आग्रह गरे।
पत्रकारहरूको जिज्ञासामा अध्यक्ष चौधरीले गत वर्ष प्रतियोगिताका क्रममा देखिएका विवाद तथा झैझगडा दोहोरिन नदिन यस वर्ष सुरक्षा व्यवस्था थप मजबुत बनाइने बताए। प्रतियोगितालाई अनुशासित र मर्यादित बनाउन आवश्यक तयारी गरिएको उनको भनाइ थियो।
प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालयले मंसिर १७ गतेसम्म दर्ता गराउनुपर्नेछ भने मंसिर २० गतेसम्म खेलाडी विद्यार्थीको नामावली संकलन गरिनेछ। विद्यार्थीले आफू अध्ययनरत विद्यालयबाट मात्र खेल्न पाउने नियम बनाइएको छ। विद्यालयको हार्डकपी विवरण र IEMIS मा नाम दर्ता भएका विद्यार्थीलाई मात्र सहभागी गराइने अध्यक्ष चौधरीले स्पष्ट पारे।
लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा प्रत्येक विद्यालयका खेलाडी विद्यार्थीको टिमले कम्तीमा तीनवटा खेल खेल्न पाउने व्यवस्था गरिएको छ। प्रतियोगिताको प्रथम हुने टोलीले ३१ हजार रुपैयाँ र दोस्रो हुने टोलीले २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने म्यान अफ द म्याच खेलाडीलाई सोही दिन नगद पुरस्कार र ट्रफीसहित सम्मान गरिनेछ।
प्रतियोगिताका लागि खेल तालिका छिट्टै सार्वजनिक गरिने र लहानस्थित प्राविधिक शिक्षालयको सुरक्षित खेलमैदानमा खेल सञ्चालन गरिने आयोजकले जनाएको छ। क्रिकेटमा उत्कृष्ट क्षमता भएका विद्यार्थीलाई यस प्रतियोगितामार्फत कलेज, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्यसमेत प्याब्सनले लिएको छ। प्रतियोगितामा लहान क्रिकेट क्लबलाई पनि सहकार्य र सहयोगका लागि सहभागी गराइने जनाइएको छ।
पत्रकार सम्मेलनमा प्याब्सन सिरहाका वरिष्ठ उपाध्यक्ष उमेश यादव, नेविसंघ सिरहाका जिल्ला अध्यक्ष पप्पु यादव, ग्लोबल कलेजका सञ्चालक भोलाजित नेपाल, नेपाली कांग्रेसका लहान नगर सचिव शैलेन्द्र साहलगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।














