लाल बिहारी यादव | सिरहादर्पण, लहान।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री पद्मनारायण चौधरीले विभाजित अवस्थामा रहेको नेपाली कांग्रेसलाई एकताबद्ध बनाउनु अहिलेको राष्ट्रिय आवश्यकता भएको बताएका छन्। पार्टीका दुवै पक्षले आफ्नो अडान र अहंकार त्यागेर घुँडा टेकेर भए पनि एकताको बाटो रोज्नुपर्ने उनको सुझाव छ।
नेपाली कांग्रेसको १५औँ नियमित सिरहा जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता चौधरीले राष्ट्रिय राजनीति र लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसको अग्रणी भूमिका रहेको उल्लेख गर्दै देशलाई बचाउने र सही दिशामा अघि बढाउने जिम्मेवारी पनि कांग्रेसकै भएको बताए।
उनले भने, “नेपाली कांग्रेस विभाजित रहनुको विकल्प छैन भन्ने होइन, एक हुनुको विकल्प छैन। अधिवेशन दुवै पक्षले अलग-अलग गराए पनि अन्ततः विभाजित अवस्थामै रहे दुवै पक्षले राजनीतिक क्षति बेहोर्नुपर्ने निश्चित छ। दुवै पक्षका नेतृत्व एक ठाउँमा आए भने नेपाली कांग्रेस फेरि नेपालको राजनीतिलाई नेतृत्व गर्ने शक्तिका रूपमा स्थापित हुन सक्छ।”
नेता चौधरीले कांग्रेसको वर्तमान विवादलाई सामान्य गुटगत असन्तुष्टिका रूपमा मात्र बुझ्न नहुने बताए। पार्टीको नेतृत्व र संगठनात्मक एकतालाई प्राथमिकता दिँदै व्यक्तिगत तथा समूहगत स्वार्थभन्दा माथि उठ्नुपर्ने उनको धारणा थियो। दुवै पक्षका नेतृत्वबीच सहमति कायम गरी आगामी स्थानीय तहलगायत बाँकी निर्वाचनमा एकताबद्ध भएर जानुपर्नेमा उनले जोड दिए।
उनको भनाइमा पार्टी विभाजित रहँदा दुवै पक्ष कमजोर हुनेछन् भने एकताबद्ध हुँदा कांग्रेस पुनः राष्ट्रिय राजनीतिमा प्रभावशाली नेतृत्वदायी शक्तिका रूपमा स्थापित हुन सक्छ।
यसैबीच, नेपाली कांग्रेसको १५औँ नियमित सिरहा जिल्ला अधिवेशन लहानस्थित गोपाल सेवा सदनमा सम्पन्न भएको छ। अधिवेशनले युवा नेता सन्तोष चौधरीलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको छ।
प्रभावशाली, सहनशील र संगठनात्मक क्षमता भएका युवा नेता चौधरीको सर्वसम्मत चयनलाई सिरहा कांग्रेसमा युवा पुस्ताको नेतृत्व स्थापित गर्ने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। उनको चयनले पार्टीभित्र नयाँ ऊर्जा, उत्साह र पुस्तान्तरणको सन्देश दिएको छ।
अधिवेशनमा नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। पार्टीका अनुभवी नेताहरू तथा केन्द्रीय तहका नेताहरूको उपस्थितिले अधिवेशनलाई थप राजनीतिक महत्त्व दिएको थियो। पूर्वसंघीय सांसद मुक्तार अन्सारीले समेत अधिवेशनलाई सम्बोधन गरेका थिए।
लहान नेपाली कांग्रेसको संगठनात्मक र राजनीतिक गतिविधिको महत्त्वपूर्ण केन्द्र भएकाले यहाँ भएको नेतृत्व चयनले जिल्लाभरको संगठनात्मक समीकरणमा प्रभाव पार्ने अपेक्षा गरिएको छ। विशेषगरी नयाँ जिल्ला नेतृत्वले पुरानो संगठनात्मक संरचना र युवा पुस्ताबीच समन्वय गर्दै आगामी निर्वाचनका लागि पार्टीलाई कसरी सुदृढ बनाउँछ भन्ने विषय चासोको केन्द्र बनेको छ।
नेपाली कांग्रेसको वर्तमान संकट समाधानका लागि नेतृत्वबीचको संवाद र सहमति नै सबैभन्दा उपयुक्त बाटो हो। पार्टीको ऐतिहासिक विरासत, लोकतान्त्रिक मूल्य र राष्ट्रिय राजनीतिक जिम्मेवारीलाई आत्मसात् गर्दै दुवै पक्ष एक ठाउँमा आउन सके कांग्रेस पुनः राष्ट्रिय राजनीतिमा प्रभावशाली नेतृत्वदायी शक्तिका रूपमा स्थापित हुन सक्छ। त्यसैले पार्टीभित्रको विवादलाई प्रतिष्ठाको विषय नबनाई एकता, पुस्तान्तरण र संगठन सुदृढीकरणलाई प्राथमिकता दिनु आजको आवश्यकता हो।
लहानमा सम्पन्न जिल्ला अधिवेशनबाट युवा नेता सन्तोष चौधरी सर्वसम्मत सभापतिमा निर्वाचित हुनु र केन्द्रीय सदस्य तथा पूर्वमन्त्री पद्मनारायण चौधरीले राष्ट्रिय राजनीतिमा कांग्रेस एकताको महत्त्वलाई जोड दिनुले सिरहा कांग्रेसमा संगठनात्मक परिवर्तन र राष्ट्रिय एकताको सन्देश एकसाथ प्रवाह गरेको छ।















