लहान, सिरहा।

मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा एकै परिवारका १४ जनाको दुःखद निधन भएको घटनाप्रति जय महाकाल युवा समूहले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।

आज आयोजित कार्यक्रममा दुर्घटनामा ज्यान गुमाएका मृतकहरूको सम्झनामा दीप प्रज्वलन गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो। जनता समाजवादी पार्टी (जसपा) का जिल्ला सहसचिव सन्तोष यादवको रोहबरमा सम्पन्न कार्यक्रममा समूहका सदस्य तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको थियो।