जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त, लहानको उपप्रमुखसहित सिरहाका तीन जना पनि पदमुक्त
लाल बिहारी यादव, सिरहा दर्पण, लहान।
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका देशभरका १८ जना जनप्रतिनिधिको पद रिक्त भएको सूचना प्रकाशित गरेको छ। पद रिक्त हुनेमा सिरहाका तीन स्थानीय तहका तीन जना जनप्रतिनिधिसमेत रहेका छन्।
निर्वाचन आयोगले २०८३ मंसिर ३ गते प्रकाशित गरेको सूचनाअनुसार पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको भन्दै जसपा नेपालको केन्द्रीय समन्वय समितिबाट प्राप्त निर्णयका आधारमा उनीहरूको निर्वाचित पद स्वतः रिक्त भएको हो। आयोगले मंसिर २ गते यससम्बन्धी निर्णय गरेको जनाएको छ।
पद रिक्त हुने १८ जनप्रतिनिधिको नाम र विवरण यसप्रकार छन्ः
मधेश प्रदेश
१. राम चरितर महतो – लहान नगरपालिका, सिरहा – उपप्रमुख।
२. रमेश कुमार यादव – सखुवानान्कारकट्टी गाउँपालिका, सिरहा – वडा नं. ४ का वडा अध्यक्ष।
३. विजय कुमार महतो – धनगढीमाई नगरपालिका, सिरहा – वडा नं. ७ का वडा अध्यक्ष।
४. लालबाबु राउत बरै – कालिकामाई गाउँपालिका, पर्सा – वडा नं. १ का वडा अध्यक्ष।
५. संजय कुमार पटेल – कालिकामाई गाउँपालिका, पर्सा – वडा नं. ३ का वडा अध्यक्ष।
कोशी प्रदेश
६. सन बहादुर राई – जिल्ला समन्वय समिति, खोटाङ – प्रमुख।
७. गुरु राज राई – केपिलासगढी गाउँपालिका, खोटाङ – उपाध्यक्ष।
८. मुगा धन राई – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङ – वडा नं. १० का वडा अध्यक्ष।
९. कल्पना राई – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङ – वडा नं. १० की वडा महिला सदस्य।
१०. गिता वि.क. – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङ – वडा नं. १० की वडा दलित महिला सदस्य।
११. रामधन राई – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङ – वडा नं. १० का वडा सदस्य।
१२. शहर मनी राई – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङ – वडा नं. १० का वडा सदस्य।
१३. विरेन्द्र कुमार दर्नाल – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङ – नगर कार्यपालिका सदस्य।
१४. बाल चन्द्र राई – टेम्केमैयुङ गाउँपालिका, भोजपुर – वडा अध्यक्ष।
१५. छत्र बहादुर राई – लिम्चुङबुङ गाउँपालिका, उदयपुर – वडा नं. ४ का वडा अध्यक्ष।
१६. विनोद कुमार नेम्वाङ्ग – माङसेबुङ गाउँपालिका, इलाम – उपाध्यक्ष।
१७. ढाल बहादुर गुरुङ्ग – सन्दकपुर गाउँपालिका, इलाम – वडा नं. ४ का वडा अध्यक्ष।
१८. जुडिलाल कौडगिया – कोशी गाउँपालिका, सुनसरी – वडा नं. ६ का वडा अध्यक्ष।
आयोगका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको जानकारी सम्बन्धित दलको केन्द्रीय समितिले आयोगलाई गराउनुपर्ने कानुनी व्यवस्था छ।
सोही कानुनी व्यवस्थाअनुसार जसपा नेपालको निर्णयसहित प्राप्त जानकारीका आधारमा आयोगले उनीहरूको निर्वाचित पद स्वतः रिक्त भएको निर्णय गरेको हो।
विशेषगरी सिरहाको लहान नगरपालिकाको उपप्रमुख राम चरितर महतोको पद रिक्त हुने निर्णयले जिल्लाको स्थानीय राजनीतिक वृत्तमा चासो बढाएको छ। आयोगले उक्त सूचना सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरेको जनाएको छ।















