लाल बिहारी यादव, लहान, सिरहा । चुनाव आउँछ, जान्छ, तर गाउँघरको सामाजिक सम्बन्ध र आपसी सद्भाव जीवनभर कायम रहनुपर्ने सन्देशसहित लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी देव नारायण साहले, गाउँवासीलाई एकता र सहिष्णुता कायम राख्न अपिल गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो विचार सार्वजनिक गर्दै साहले चुनावका बेला फरक राजनीतिक विचार, पार्टी र उम्मेदवारको समर्थन गरेकै आधारमा छिमेकी, आफन्त तथा गाउँवासीबीच दुश्मनी र मनमुटाव सिर्जना गर्न नहुने बताएका छन्। उनले कसैले एउटा पार्टी रोज्नु र कसैले अर्को पार्टी रोज्नु लोकतान्त्रिक अधिकार भएको उल्लेख गर्दै राजनीतिक विचार फरक हुँदैमा पुस्तौँदेखिको सामाजिक सम्बन्ध बिगार्नु उचित नभएको धारणा व्यक्त गरेका छन्।
साहले चुनाव जिताउने नाममा गाउँ फुटाउने नभई गाउँ जोड्ने नेतृत्व आवश्यक रहेको बताएका छन्। व्यक्तिगत स्वार्थ पूरा गर्न जनताबीच दूरी बढाउने प्रवृत्तिको अन्त्य गर्दै विकास र समृद्धिको साझा बाटो देखाउने राजनीतिक संस्कार स्थापित हुनुपर्ने उनको जोड छ।
उनले गाउँवासीलाई कसैको बहकाउमा नलाग्न, कसैप्रति घृणाको भावना नराख्न र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। पार्टी र विचार फरक भए पनि गाउँ, माटो र सामाजिक सम्बन्ध सबैको साझा सम्पत्ति भएको उनको भनाइ छ।
‘चुनाव पाँच वर्षमा आउन सक्छ, तर छिमेकीसँगको सम्बन्ध जीवनभर रहन्छ। राजनीतिमा प्रतिस्पर्धा गरौँ, समाजमा एकता कायम गरौँ,’ साहले आफ्नो सन्देशमा भनेका छन्।
‘समृद्ध लक्ष्मीपुर पतारी गाउँपालिका, सन्तुलित विकास हाम्रो साझा लक्ष्य’ भन्ने प्रतिबद्धतासमेत व्यक्त गरेका साह पूर्व गाविस अध्यक्ष सितापुरका साथै गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट लक्ष्मीपुर पतारी गाउँपालिकाको अध्यक्ष पदमा झिनो मतान्तरले पराजित प्रत्यासी हुन्।















