लालबिहारी यादव, सिरहा दर्पण, लहान।

लहान नगरपालिकाका नगर प्रमुख महेशप्रसाद चौधरीले आफ्नो कार्यकालमा सम्पन्न तथा अघि बढाइएका १०१ वटा कामको फेहरिस्त सार्वजनिक गर्दै ती कामको स्थलगत अनुगमन र मूल्याङ्कन गर्न पत्रकारहरूलाई खुला निमन्त्रणा दिएका छन्।

लहान नगरपालिका नगरसभा हलको बाहिरी परिसरमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख चौधरीले आफूले गरेका कामहरूको विवरण वाचन गर्दै पत्रकारहरूबाट उठेका जिज्ञासाको जवाफ दिएका थिए। नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताको नेतृत्वमा करिब दुई दर्जन पत्रकारको उपस्थिति रहेको कार्यक्रममा उनले आफूले गरेका कामबारे स्थलगत रूपमा पुगेर सत्यतथ्य बुझ्न आग्रह गरे।

नगर प्रमुख चौधरीले नगर अस्पताल सञ्चालन, आर्यघाट निर्माण, २५० भन्दा बढी मुसहर परिवारका लागि आवास निर्माण, सिंग्राही–तीनकोनी पार्क सडक कालोपत्रे, ६५ फिटे सडक, गुदिगाउँ–बस्तिपुर सडक, बिरनगर चोक–राजदेवी मन्दिर सडक निर्माणलगायतका कामलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरे। क्रिकेट रंगशाला निर्माणको सुरुवात, प्रत्येक वडामा ३ देखि ५ किलोमिटरसम्म सडक ढलान, गर्भवती तथा सुत्केरी महिलालाई पोषण प्याकेज, मुसहर समुदायलाई राहत तथा दाहसंस्कारका लागि पाँच हजार रुपैयाँ सहयोग पनि आफ्नो कार्यकालका काममा समेटिएको उनले बताए।

त्यसैगरी, तरेगना वनदेखि गाउँसम्मको सडक कालोपत्रे, ग्रामीण चोक उत्तरतर्फको सडक कालोपत्रे, ग्रामीणदेखि हुलाकसम्मका विभिन्न सडक निर्माण, दुर्गा मन्दिर निर्माण, पुरानो नगरपालिका कार्यालय रहेको स्थानमा व्यावसायिक भवन निर्माण, विद्यालय भवन तथा शौचालय निर्माण, विपन्न तथा दलित परिवारलाई खानेपानीको धारा जडानमा अनुदान, सार्वजनिक शौचालय निर्माण, वडा कार्यालय भवन निर्माण र स्वास्थ्य चौकी स्थापना तथा स्तरोन्नतिलगायतका काम भएको उनले जानकारी दिए।

नगरपालिकामा नयाँ बजार स्तरोन्नति , सडक नम्बर १ र २ स्तरोन्नति, थाना–कटहा सडक कालोपत्रे, गोधुली होटलदेखि कुम्हार टोलसम्मको सडक कालोपत्रे, चारवटा विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन तथा लहान–२२ माछा फार्मदेखि जहदीसम्म सडक निर्माणको काम पनि अघि बढाइएको उनले बताए।

नगर प्रमुख चौधरीले गरिब तथा विपन्न परिवारलाई श्राद्ध कर्मका लागि प्रति परिवार १ क्विन्टल चामल, आवश्यक दाल, तेल, नुनलगायत खाद्यान्न सहयोग गर्दै हालसम्म २०० भन्दा बढी परिवारलाई सहयोग गरिएको बताए। छठ पर्वका अवसरमा दुर्गा मन्दिरमा चढाइएका साडी गरिब, दलित तथा मुसहर समुदायका महिलालाई वितरण गरिएको पनि उनले जानकारी दिए।

पत्रकार सम्मेलनमा तराई खबरका आशानन्द यादव, रेडियो सर्गमका सञ्चालक तथा पत्रकार फिरोज शेख, नयाँ पत्रिकाका पत्रकार मनिलाल विश्वकर्मा, पत्रकार आशिष कुमार साह, दुर्गा खनाल तथा नेपाल पत्रकार महासंघ सिरहाका पूर्वअध्यक्ष दिनेश्वरप्रसाद गुप्तासहित अन्य पत्रकारहरूले विभिन्न विषयमा जिज्ञासा राखेका थिए।

पूर्वअध्यक्ष गुप्ताले नगरपालिकाका केही कर्मचारीले दोहोरो जिम्मेवारी सम्हाल्दै दोहोरो तलब लिइरहेको भन्ने चर्चाबारे प्रश्न गरेका थिए। जवाफमा नगर प्रमुख चौधरीले आफूलाई यसबारे स्पष्ट जानकारी नभएको बताउँदै सम्बन्धित निकायमा पत्राचार गरी सत्यतथ्य बुझ्ने र दोहोरो जिम्मेवारी तथा तलब लिएको पुष्टि भए कानुनी प्रक्रियाअनुसार कारबाही गर्ने वा कर्मचारीलाई एउटै जिम्मेवारीमा सीमित गर्ने बताए।

नगर प्रमुख चौधरीले आफ्नो कार्यकालमा सम्पन्न हुन नसकेका खुट्टी नहर तथा बजार क्षेत्रको पानी निकास व्यवस्थापन र फोहोरमैला व्यवस्थापन परियोजना विवादका कारण अघि बढ्न नसकेको स्वीकार गरे। आगामी निर्वाचनमा पार्टीले टिकट दिए पुनः उम्मेदवारी दिने सोच रहेको बताउँदै निर्वाचित भए अधुरा रहेका यी दुई कामलाई प्राथमिकतामा राखेर अघि बढाउने उनको भनाइ थियो। उनले नेपाल पत्रकार महासंघ सिरहा शाखाको जिल्ला कार्यालय भवन निर्माणमा पनि चालु कार्यकालमै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यालय समयबाहेक पनि नागरिकका समस्या समाधानमा आफू सक्रिय रहने गरेको उल्लेख गर्दै चौधरीले टोलबस्तीमै पुगेर समस्या पहिचान तथा समाधान गर्ने प्रयास गर्दै आएको बताए । मेयर चौधरीले जनताको चाहना र आवश्यकतमा आधारित हजारौं काम गरेपनि विशेष महत्वका १०१ काम मात्र सार्वजनिक गरेको भनेका थिए।