लाल बिहारी यादव, सिरहादर्पण, लहान।

सिरहाको लहान नगरपालिका–३ रघुनाथपुरस्थित ललकु माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको पोखरीको चारैतिरको डिल तथा छठघाटलाई दुलहीझैँ सिँगारिएको छ। मिथिलाको महान् पर्व छठको अवसरमा आकर्षक रूपमा सजाइएको पोखरी र सूर्यदेवको रथको दृश्यले जोकोहीलाई लोभ्याउने गरेको छ।

छठपूजाको तयारीस्वरूप पोखरी परिसरलाई टेन्ट, सजावट तथा विभिन्न आकर्षक संरचनाले व्यवस्थित गरिएको छ। यहाँ ४०० भन्दा बढी छठघाट निर्माण गरिएका छन्। टेन्टमा मात्रै २ लाख २५ हजार रुपैयाँ खर्च भएको टेन्टधनी रञ्जित साहले बताए। अन्य व्यवस्थापनमा करिब ३ लाख रुपैयाँ र समग्रमा करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

छठघाट निर्माणका लागि श्रद्धालु भक्तजनले प्रतिघाट ५०० देखि १ हजार रुपैयाँसम्म स्वेच्छिक आर्थिक सहयोग गर्ने गरेको छठपूजा समितिका सचिव विजय महतोले जानकारी दिए।

पूजाको अवसरमा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने भएको छ। साथै, रातभर छठपूजाका सामग्रीको सुरक्षाका लागि छठघाटमै उच्च निगरानीको व्यवस्था गरिने समितिले जनाएको छ।

आस्था, निष्ठा र भक्तिको पर्वका रूपमा मनाइने छठ सुरु भएसँगै मिथिलाको घरआँगन छठमय बनेको छ। चार दिनसम्म मनाइने यस पर्वको तयारी केही दिनअघिदेखि नै सुरु भएको हो। मिथिलाका घरघरमा सूर्यदेव र षष्ठीदेवी अर्थात् छठीमाताको महिमासँग सम्बन्धित भक्तिगीत गुञ्जिरहेका छन्।

पर्वको तयारीस्वरूप स्थानीयवासी नदी, पोखरी तथा धार्मिक महत्त्वका जलाशयहरूको सरसफाइ, घाट निर्माण र सजावटमा जुटेका छन्। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी मनाइने छठले धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउँदै आएको छ।