लाल बिहारी यादव, सिरहादर्पण, लहान।

लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी गरिब, असहाय तथा दिनदुःखी जनताको पीडा बुझ्दै उनीहरूको घरदैलोमै पुगेर सहयोग गर्ने अभिभावकीय भूमिकामा देखिँदै आएका छन्। सादगीपूर्ण जीवनशैली, मितव्ययिता, इमान्दारिता, दूरदर्शिता, त्याग र जनउत्तरदायी सेवाभावलाई प्राथमिकता दिने चौधरीको कार्यशैलीले जनताको घरमा उज्यालो हुनुपर्ने सोचलाई प्रतिबिम्बित गरेको छ।

गाँस, बास र कपासको अभावमा जीवन गुजारिरहेका सयौँ परिवारलाई आफैँ घरमा पुगेर राहत उपलब्ध गराउने कार्य मेयरमा निर्वाचित भएदेखि नै उनको नियमित दिनचर्याको हिस्सा बन्दै आएको छ। ठूला विकास योजनासँगै गरिब, असहाय र विपन्न परिवारलाई आवश्यकताअनुसार सहयोग गर्नु पनि असल अभिभावकको महत्त्वपूर्ण जिम्मेवारी भएको उनको व्यवहारले देखाएको छ।

यसैक्रममा आर्थिक अवस्था कमजोर रहेको लहान नगरपालिका–१५, वानटोल निवासी सबुरलाल चौधरीकी आमा सोनमतिया चौधरीको निधनपछि काजकिरिया तथा कर्मकर्मका लागि नगरपालिकाले एक क्विन्टल चामलसहित आवश्यक खाद्यान्न सहयोग गरेको छ।

शुक्रबार साँझ करिब ५ बजे मेयर चौधरी स्वयं मृतकको घरमा पुगेर उक्त खाद्यान्न सामग्री मृतकका छोरा सबुरलाल चौधरीलाई हस्तान्तरण गरेका हुन्। दुःखको घडीमा पीडित परिवारको घरमै पुगेर गरिएको यस्तो सहयोगले स्थानीय सरकार जनताको सुखदुःखको साथी र अभिभावक बनेको सन्देश  दिएको छ।