राम बिलास यादव
प्रधानाध्यापक, जनता माध्यमिक विद्यालय, बेतहा भवानीपुर, धनगढीमाई नगरपालिका, सिरहा।
सार्वजनिक बिदा विद्यालय तथा सरकारी कार्यालय बन्द हुने दिन मात्र होइन, आफ्ना सन्तानसँग समय बिताउने, उनीहरूको भावना बुझ्ने, आवश्यकता पहिचान गर्ने र असल संस्कार सिकाउने महत्वपूर्ण अवसर पनि हो। व्यस्त दैनिकी, कामको बोझ र घरबाट टाढा बस्नुपर्ने बाध्यताका कारण अभिभावकले बालबालिकालाई पर्याप्त समय दिन सकिरहेका हुँदैनन्। त्यसैले बिदाको समयलाई पारिवारिक आत्मीयता र बालबालिकाको विकासमा उपयोग गर्न आवश्यक छ।
विशेषगरी १३ देखि १९ वर्षको किशोरावस्था बालबालिकाका लागि अत्यन्त संवेदनशील समय हो। यस उमेरमा खेलकुद, घुमफिर, मनोरञ्जन र साथीभाइप्रतिको आकर्षण बढ्ने भएकाले पढाइ र अनुशासनबाट ध्यान विचलित हुन सक्छ। यही समयमा अभिभावकको माया, निगरानी र उचित मार्गदर्शन आवश्यक हुन्छ। बच्चा बिग्रे परिवार, परिवार बिग्रे समाज र समाज बिग्रे देश बिग्रन्छ भन्ने यथार्थलाई सबैले बुझ्नुपर्छ। विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलाप र 'बुक फ्री फ्राइडे' (Book Free Friday) को अवधारणाले पनि बालबालिकालाई पढाइसँगै सिर्जनात्मक तथा व्यवहारिक गतिविधिमा जोड्ने उद्देश्य राखेको छ।
सार्वजनिक बिदामा अभिभावकले बालबालिकालाई पारिवारिक सिर्जनात्मक काममा सहभागी गराउने, विद्यालयले दिएको गृहकार्य गराउन सहयोग गर्ने, मोबाइल र टेलिभिजनको प्रयोग घटाएर पुस्तक पढ्ने तथा हस्तलेखन गर्ने बानी बसाल्ने गर्नुपर्छ। विषय शिक्षकसँग सम्पर्क गरी पढाइको अवस्थाबारे जानकारी लिने र चित्रकला, कथा लेखन, हस्तकला तथा उनीहरूको रुचिका गतिविधिमा प्रोत्साहन गर्नुपर्छ।
त्यसैगरी, बालबालिकाका अगाडि पारिवारिक झगडा, गालीगलौज र श्रीमान्–श्रीमतीबीच दोषारोपण गर्ने व्यवहार गर्नु हुँदैन। उनीहरूलाई पार्क, बगैँचा र खुला स्थानमा घुमाउने, बिहान–साँझ व्यायाम गराउने तथा उमेरअनुसार कोठा मिलाउने, बिरुवामा पानी हाल्ने र भान्सामा सघाउनेजस्ता घरायसी काममा सहभागी गराउनुपर्छ।
अभिभावकले नैतिक कथा तथा दृष्टान्त सुनाएर ठूलालाई सम्मान, सानालाई माया र इमानदार बन्ने संस्कार सिकाउनुपर्छ। आफ्ना जीवनका अनुभव, पारिवारिक इतिहास र संस्कृतिबारे जानकारी दिँदै भविष्यमा कसरी अध्ययन गर्ने र परिवारलाई कसरी सहयोग गर्ने भन्ने विषयमा बालबालिकासँग खुलस्त छलफल गर्नुपर्छ। पाठ्यपुस्तकबाहेक बालकथा, सामान्य ज्ञान र प्रेरणादायी पुस्तक पढ्ने बानी पनि विकास गराउनुपर्छ।
सबै परिवारको आर्थिक, सामाजिक र शैक्षिक अवस्था समान हुँदैन। त्यसैले अभिभावकले आफ्नो ज्ञान, क्षमता र परिस्थितिअनुसार बालबालिकाका लागि उपयुक्त गतिविधि छनोट गर्न सक्छन्। तर, एउटा कुरा सबैले बुझ्नुपर्छ—सन्तानको भविष्य निर्माण गर्न सम्पत्ति जोड्नु मात्र पर्याप्त हुँदैन, उनीहरूलाई समय दिनु, माया गर्नु, उचित निगरानी राख्नु र असल संस्कार सिकाउनु पनि उत्तिकै आवश्यक छ।
आजका बालबालिका भोलिका जिम्मेवार नागरिक हुन्। उनीहरूको उज्ज्वल भविष्यका लागि सार्वजनिक बिदालाई केवल मनोरञ्जन र विश्रामको दिन नबनाई परिवारसँग सिक्ने, सिकाउने र आत्मीयता बढाउने अवसरका रूपमा सदुपयोग गरौँ















