रामविलास यादव
शिक्षक तथा प्रधानाध्यापक, जनता माध्यमिक विद्यालय, बेतहा भवानीपुर, धनगढीमाई नगरपालिका, सिरहा।

दशैँ, तिहार र छठ हिन्दू धर्मावलम्बीहरूका तीन प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हुन्। यी पर्व केवल धार्मिक आस्थाका प्रतीक मात्र होइनन्, सामाजिक सद्भाव, पारिवारिक एकता र सांस्कृतिक पहिचानका आधार पनि हुन्। सबैले आफ्नो आर्थिक क्षमता, हैसियत र श्रद्धाअनुसार पर्व मनाउने स्वतन्त्रता राख्छन्। घरआँगन सफा गर्ने, नयाँ तथा सफा कपडा लगाउने, श्रद्धाभक्तिपूर्वक पूजाआजा गर्ने, प्रसाद चढाउने र दीप प्रज्वलन गर्ने परम्परा आफैँमा सकारात्मक छ।

तर तिहारको दीपावली र छठ पर्वका अवसरमा पूजा स्थल तथा घाट सजाउन केराको बोट काटेर गाड्ने वा राख्ने चलनले भने गम्भीर प्रश्न खडा गरेको छ। के केराको बोटबिना यी पर्व मनाउन सम्भव छैन ? धार्मिक आस्थाको नाममा प्रत्येक वर्ष करोडौँ केराका बोट प्रयोग गरेर खेर फाल्नु कत्तिको उचित हो ? यस विषयमा हामीले कहिल्यै गम्भीर भएर सोच्ने गरेका छौँ ?

आउनुहोस्, यस विषयलाई धार्मिक आस्था, आर्थिक अवस्था, पोषण र वातावरणीय दृष्टिकोणबाट विश्लेषण गरौँ।

करोडौँ केराका बोट र अर्बौं रुपैयाँको आर्थिक क्षति

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा हिन्दू धर्मावलम्बीको जनसङ्ख्या २ करोड ३६ लाख ७७ हजार ७४४ अर्थात् कुल जनसङ्ख्याको ८१.१९ प्रतिशत रहेको छ। यसमध्ये अधिकांशले तिहार मनाउने र उल्लेख्य सङ्ख्यामा तराईलगायत विभिन्न क्षेत्रमा छठ पर्व मनाउने गर्छन्।

लेखकको प्रस्तुत अनुमानअनुसार तराई क्षेत्रमा करिब १ करोड २७ लाख ८५ हजार ९८२ जनाले छठ मनाउने गर्छन्। त्यस्तै, तराईमा करिब ३१ लाख ९५ हजार ४९६ हिन्दू परिवार रहेको तथ्यलाई आधार मान्दा एउटा परिवारले तिहार र छठका अवसरमा दुई–दुईवटा गरी जम्मा चारवटा केराका बोट प्रयोग गर्ने हो भने यी दुई पर्वमा मात्रै करिब १ करोड २८ लाख केराका बोट काटिने अवस्था आउँछ।

यदि एउटा केराको बोटबाट कम्तीमा एक घरी केरा उत्पादन हुने र एउटा घरीको औसत बजार मूल्य ६०० रुपैयाँ मान्ने हो भने ती बोटमा उत्पादन हुने केराको मूल्य मात्रै करिब ७ अर्ब ६८ करोड रुपैयाँ हुन आउँछ।

यसरी हेर्दा धार्मिक तथा सांस्कृतिक प्रयोजनका लागि प्रयोग गरिने केराका बोटसँगै त्यसमा उत्पादन हुने खाद्य वस्तुको ठूलो आर्थिक मूल्य पनि खेर गइरहेको देखिन्छ। यो रकम कृषि उत्पादन, खाद्य सुरक्षा र ग्रामीण अर्थतन्त्रका दृष्टिले निकै महत्त्वपूर्ण छ।

केरा स्वादिलो फल मात्र होइन, मानव स्वास्थ्यका लागि आवश्यक पोषक तत्त्वको महत्त्वपूर्ण स्रोत पनि हो। यसमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए तथा सी, पोटासियम, म्याग्नेसियम, खनिज तत्त्व र डाइटरी फाइबर पाइन्छन्। यसले शरीरलाई ऊर्जा प्रदान गर्नुका साथै पाचन प्रणाली र समग्र स्वास्थ्यमा सहयोग पुर्‍याउँछ।

यसरी पोषणयुक्त फल उत्पादन गर्ने केराको बोटलाई फलसहित धार्मिक सजावटका लागि काटेर प्रयोग गर्नु र केही दिनमै फाल्नु कति व्यावहारिक छ ? एकातिर हामी पौष्टिक आहारको अभाव र महँगीको कुरा गर्छौँ भने अर्कोतिर उपयोगी कृषि उत्पादनलाई परम्पराका नाममा खेर फालिरहेका छौँ।

पर्वपछिको फोहोरले बढाउँछ वातावरणीय समस्या

तिहार र छठका दिन श्रद्धापूर्वक गाडिएका वा राखिएका केराका बोट एक–दुई दिनपछि ओइलाएर सुक्न थाल्छन्। त्यसपछि ती बोट सडक, बाटो, घाट, घर तथा पसलअगाडि जथाभावी फाल्ने गरिन्छ।

यसले नगर तथा ग्रामीण बस्तीको सौन्दर्य बिगार्नुका साथै फोहोर व्यवस्थापनमा स्थानीय तहलाई थप आर्थिक भार पार्छ। फालिएका केराका बोट सङ्कलन गर्न थप जनशक्ति, ट्र्याक्टर, इन्धन र समय खर्च गर्नुपर्ने हुन्छ। त्यसबाट डम्पिङ तथा फोहोर व्यवस्थापनको खर्चसमेत बढ्छ।

एकातिर हामी स्वच्छ, सफा र सुन्दर नगरको परिकल्पना गर्छौँ भने अर्कोतिर पर्व सकिएपछि ठूलो परिमाणमा जैविक फोहोर उत्पादन हुने गतिविधिलाई निरन्तरता दिइरहेका छौँ। यस विषयमा आम नागरिक र स्थानीय सरकार दुवैले ध्यान दिन आवश्यक छ।

यस विषयमा केही स्वाभाविक प्रश्नहरू उठ्छन्।

पहिलो, के केराको बोटबिना तिहार र छठ मनाउन सम्भव छैन ?

पक्कै सम्भव छ। पर्व मनाउनुको मूल उद्देश्य श्रद्धा, आस्था, विश्वास र परम्पराको संरक्षण हो। केराको बोट प्रयोग नगर्ने सङ्कल्प गरेपछि पनि अन्य धार्मिक तथा सांस्कृतिक विधिअनुसार पर्व मनाउन सकिन्छ।

दोस्रो, केराको बोट आवश्यक नै हो भने विकल्प खोज्न सकिँदैन ?

किन नसकिने ? केराको बोटको सट्टा कागज, कपडा वा अन्य पुनःप्रयोग गर्न मिल्ने सामग्रीबाट आकर्षक कृत्रिम केराको बोट तयार गर्न सकिन्छ। विगतमा मनोकामना पूरा भएपछि भाकलअनुसार वास्तविक हात्ती चढाउने चलन रहे पनि अहिले माटोको हात्ती चढाएर धार्मिक परम्परा पूरा गर्ने अभ्यास पनि देखिन्छ। त्यसरी नै केराको बोटको विकल्प प्रयोग गर्दा धार्मिक आस्थामा कुनै कमी आउँदैन।

तेस्रो, यसबाट रोजगारी सिर्जना गर्न सकिँदैन ?

कागज वा अन्य वातावरणमैत्री सामग्रीबाट केराको बोट बनाउने उद्योग तथा घरेलु व्यवसाय सञ्चालन गर्न सकिन्छ। यसले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै नयाँ उद्यमशीलताको विकास गर्न सक्छ। प्रयोगपछि सड्ने तथा पुनःप्रयोग गर्न मिल्ने सामग्री छनोट गर्न सकिए वातावरणीय दृष्टिले पनि फाइदा पुग्छ।

चौथो, यसले केराको बजार मूल्यमा सकारात्मक प्रभाव पार्दैन ?

हरेक वर्ष पर्वका नाममा ठूलो परिमाणमा केराका बोट काटेर प्रयोग गर्ने प्रवृत्ति घटाउन सकिए केराको उत्पादन फलका रूपमा बजारमा पुग्न सक्छ। यसले कृषकको आम्दानी बढाउन र उपभोक्तालाई सहज मूल्यमा केरा उपलब्ध गराउन सहयोग गर्न सक्छ। छठका बेला केराको एउटा घरीलाई अत्यधिक महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता पनि कम हुन सक्छ।

परम्परालाई जोगाऔँ, तर समयअनुसार सुधार पनि गरौँ

संस्कृति र परम्पराको संरक्षण गर्नु हाम्रो दायित्व हो। तर परम्पराको नाममा आर्थिक, खाद्य तथा वातावरणीय क्षति भइरहँदा त्यसको विकल्प खोज्नु पनि उत्तिकै आवश्यक छ। संस्कृतिको वास्तविक संरक्षण भनेको समाजलाई सकारात्मक दिशा दिनु हो, अनावश्यक खर्च र नोक्सानीलाई निरन्तरता दिनु होइन।

धार्मिक आस्था व्यक्तिगत स्वतन्त्रताको विषय हो। कसैको आस्थामाथि प्रश्न उठाउनु वा कसैलाई आफ्नो परम्परा त्याग्न बाध्य पार्नु यस लेखको उद्देश्य होइन। यसको मूल उद्देश्य भनेको धार्मिक आस्थालाई कायम राख्दै अनावश्यक आर्थिक नोक्सानी र वातावरणीय प्रदूषण न्यूनीकरण गर्न सकिन्छ भन्ने चेतना फैलाउनु हो।

म विगत १५ वर्षदेखि तिहार र छठ पर्व केराको बोट प्रयोग नगरी मनाउँदै आएको छु। यसरी पर्व मनाउँदा मेरो श्रद्धा, आस्था र धार्मिक विश्वासमा कुनै कमी आएको अनुभव गरेको छैन।

त्यसैले अब हामी सबैले एकपटक सोचौँ—केराको बोट काटेर केही दिनका लागि सजावट गर्नुभन्दा त्यसमा लाग्ने फललाई खाद्य वस्तुका रूपमा उपयोग गर्नु बुद्धिमानी होइन र ?