लाल बिहारी यादव, सिरहादर्पन, लहान।

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ सखुवाका युवा खेलाडीहरूलाई युवा नेता पिन्टु यादवले दीपावलीको अवसर पारेर क्रिकेट खेलकुद सामग्री हस्तान्तरण गरेका छन्। हिजो कार्तिक २२ गते दीपावलीका दिन उनले खेलाडीहरूलाई रातो टीका लगाएर क्रिकेट सामग्री प्रदान गरेका हुन्।

सखुवानन्कारकट्टी–४ स्थित राम मन्दिर परिसरमा श्री श्री १०८ श्री बाबा डिहवार बलान मैया युवा क्रिकेट टिमका खेलाडीहरूलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो। टिमका अध्यक्ष नितिस यादवले सामग्री ग्रहण गरेका छन्। हस्तान्तरण स्थलमा खेलाडीहरूको उत्साह जनक उपस्थिति रहेको थियो। खेलकुद सामग्री प्राप्त गरेपछि युवा खेलाडीहरू निकै उत्साहित भएका छन्।

युवा नेता यादवका अनुसार खेलकुदले युवाहरूको ऊर्जा, आत्मविश्वास र सफलता हासिल गर्ने क्षमतालाई अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्छ। नवयुवा खेलाडीहरूको उत्साह बढाउँदै उनीहरूको भविष्यका लागि सानो भए पनि सहयोग पुर्‍याउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको हो। युवाहरूको चाहना, रुचि र अपेक्षालाई कदर गर्दै खेलकुद क्षेत्रमा प्रोत्साहन गर्न आफूले सहयोग गरेको उनले बताए।

यादव खेलकुदसँगै स्थानीय सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिमा समेत सक्रिय रूपमा सहयोग र सहकार्य गर्दै आएका छन्। केही दिनअघि सखुवामै आयोजित दाहा मेला महोत्सवमा टेन्ट व्यवस्थापनका लागि उनले ९ हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए। उक्त महोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी भएका यादवलाई आयोजकले सम्मानसमेत गरेको थियो।

त्यसैगरी, महोत्सवमा दोस्रो पुरस्कार प्राप्त गर्ने विजेताका लागि दुई भरी चाँदी जडित शिल्डसमेत उनले आफ्नै निजी लगानीमा सहयोग गरेको जानकारी दिएका छन्। स्थानीय स्तरमा हुने खेलकुद तथा सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आफूले यस्ता सहयोग गर्दै आएको यादवले बताए।

आफू जनसेवामा समर्पित रहेको उल्लेख गर्दै यादवले गरिब, असहाय तथा आवश्यकतामा परेका व्यक्तिहरूलाई अप्ठ्यारो परेको बेला सहयोग गर्न आफू सधैँ तत्पर रहेको बताए। समाजमा आपसी सहयोग, सहकार्य र सद्भावको भावना विकास गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने उनको धारणा छ।

क्रिकेट सामग्री हस्तान्तरण, दाहा मेला महोत्सवमा आर्थिक सहयोग तथा विजेताका लागि पुरस्कारको व्यवस्था जस्ता गतिविधिले स्थानीय युवाहरूको मनोबल बढाउनुका साथै सामाजिक क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने समाजसेवी युवाको रुपमा नेता यादबलाई देखिदैछ।