लाल बिहारी यादव, सिरहा दर्पण
सिरहा, मंसिर १९ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–स्थित सीतापुरमा ‘पशुपालनबाट समृद्धि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ कृषक पाठशाला तथा कृषक दिवस कार्यक्रम सम्पन्न भएको छ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लस्टर इकाई सप्तरीको आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा आधुनिक तथा व्यावसायिक पशुपालन, उन्नत आहार तथा पोषण व्यवस्थापन, पशुरोग नियन्त्रण, स्वास्थ्य सुरक्षा, उत्पादन वृद्धि र आम्दानी बढाउने उपायबारे कृषकहरूलाई जानकारी दिइएको थियो।
बिना कुमारी साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक काशेन्द्र प्रसाद यादव प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा प्रमुख सहजकर्ता धर्मराज कटुवाल, सहजकर्ताहरू सोना कुमारी यादव र चन्द्रकान्त सिंह, कृषि प्राविधिक त्रिभुवन चौधरी तथा पोषण प्राविधिक जसकरण साहलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन पोषण प्राविधिक जसकरण साहले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि यादवले कृषि तथा पशुपालनमा उच्च मनोबलका साथ मेहनत गरेर काम गर्न कृषकहरूलाई आग्रह गर्नुभयो। उहाँले कृषि र पशुपालनलाई आयआर्जनको भरपर्दो माध्यम बनाउन आधुनिक प्रविधि र सीपको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। साथै, आफ्ना छोराछोरीलाई नियमित विद्यालय पठाई समयअनुसार दक्ष जनशक्ति निर्माण गर्न अभिभावकले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
कार्यक्रमका सहजकर्ता तथा प्राविधिकहरूले कृषिमैत्री प्रविधि, व्यावसायिक पशुपालन, पशु आहार व्यवस्थापन, रोग नियन्त्रण र उत्पादन वृद्धिका विषयमा कृषकहरूलाई व्यावहारिक तथा प्राविधिक जानकारी प्रदान गरेका थिए।झैओ
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई राजविराज, सप्तरीमार्फत लक्ष्मीपुर पतारी गाउँपालिकामा कृषि समूह, पशुपालन कृषक समूह र पोषण समूह गरी तीन क्षेत्रमा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइयो। यसअन्तर्गत पोषणसम्बन्धी ३८ वटा समूह गठन भएका छन्।
कृषि समूहको मुख्य उद्देश्य कृषिजन्य उत्पादन वृद्धि गर्नु, आधुनिक कृषि प्रविधिको प्रसार गर्नु तथा कृषकहरूमा कृषि सम्बन्धी जनचेतना अभिवृद्धि गर्नु रहेको छ। त्यसैगरी, पशुपालन समूहको उद्देश्य दूध, मासु तथा दुग्धजन्य पदार्थको उत्पादन बढाउनु, उन्नत नश्लका पशुपालनलाई प्रोत्साहन गर्नु, गोठ सुधार गर्नु, आयआर्जन वृद्धि गर्नु तथा बेरोजगारी न्यूनीकरण गर्नु रहेको छ।
पोषण समूहको माध्यमबाट विशेषगरी आमा तथा बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउने, कुपोषण न्यूनीकरण गर्ने र पोषणयुक्त खाद्य पदार्थको उपभोग तथा उत्पादन बढाउने लक्ष्य राखिएको छ।
आयोजनाले कृषि क्षेत्रमा पूरक अनुदान, साना सिँचाइ तथा मागमा आधारित कार्यक्रममार्फत कृषकहरूलाई सहयोग गर्दै आएको छ। यस कार्यक्रमबाट कृषकहरूलाई सीप, तालिम, प्रविधि र बजारीकरणसम्बन्धी ज्ञान प्रदान गरी कृषि तथा पशुपालनलाई व्यावसायिक र आत्मनिर्भर बनाउने अपेक्षा गरिएको छ।
नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाले ग्लोबल एग्रिकल्चर एन्ड फुड सेक्युरिटी प्रोग्राम (GAFSP) को सहयोगमा सञ्चालन गर्दै आएको यस कार्यक्रमले ग्रामीण कृषकको उत्पादन, पोषण र आर्थिक अवस्थामा सुधार ल्याउने लक्ष्य लिएको छ।(रासस)















