१८ कातिक, लाल बिहारी यादव, सिरहादर्पन, लहान।
सिरहा, १८ कात्तिक। सिरहाको धनगढीमाई नगरपालिका–२ स्थित श्री जनता माध्यमिक विद्यालय, बेतहा भवानीपुरको विद्यालय व्यवस्थापन समिति तेस्रो पटकको बृहत् अभिभावक भेलाबाट सर्वसम्मत रूपमा चयन भएको छ।
बुधबार सम्पन्न अभिभावक भेलाले दुई महिलासहित चार जना सदस्यलाई आगामी तीन वर्षे कार्यकालका लागि निर्विरोध चयन गरेको हो। लामो छलफल र सहमतिपछि शिक्षा ऐन, २०२८ को दफा १२ को उपदफा १ (क) बमोजिम कक्षा १२ उत्तीर्ण शैक्षिक योग्यता भएका सदस्यहरू चयन गरिएको विद्यालयले जनाएको छ।
धनगढीमाई नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरिनारायण सिंहको अध्यक्षता तथा स्थानीय वडा नं. २ का वडाध्यक्ष हमिद मियाँको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, समाजसेवी तथा बुद्धिजीवीहरूको सक्रिय सहभागिता रहेको थियो।
सहकर्मी शिक्षक विनोदकुमार रायले सञ्चालन गरेको कार्यक्रममा सामूहिक राष्ट्रिय गानपछि छलफल सुरु भएको थियो। विद्यालयका प्रधानाध्यापक रामविलास यादवले उपस्थित अतिथि तथा अभिभावकहरूलाई स्वागत गर्दै विद्यालय व्यवस्थापन समितिको आवश्यकता, समिति विहीन हुँदा विद्यालयले भोग्नुपर्ने समस्या, शैक्षिक गुणस्तरमा पर्ने प्रभाव, पदाधिकारी छनोट प्रक्रिया तथा आवश्यक मापदण्डबारे प्रकाश पारेका थिए।
छलफलमा पूर्व पीटीए अध्यक्ष डा. चन्देश्वर साह र समाजसेवी डा. रामअशिष रायको विशेष पहल तथा पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको सक्रियतामा करिब दुई घण्टाभित्रै सौहार्दपूर्ण वातावरणमा सर्वसम्मत सहमति जुटेको थियो।
निर्विरोध चयन हुने सदस्यहरूमा नजमुन खातुन, सुमिला चौधरी, कुलदेव मोची र चन्देश्वर चौधरी रहेका छन्। समितिमा दुई महिला सदस्यको प्रतिनिधित्वसमेत सुनिश्चित भएको छ।
नवनिर्वाचित सदस्यहरूलाई प्रमुख अतिथि वडाध्यक्ष हमिद मियाँले अबिर लगाएर बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी तीन वर्षे कार्यकाल सफल र उपलब्धिमूलक बनाउन आग्रह गरेका थिए।
कार्यक्रममा पूर्व पीटीए अध्यक्ष चन्देश्वर साहले विगतका विद्यालय व्यवस्थापन समितिहरूले समर्पणका साथ गरेका सकारात्मक कामको प्रशंसा गर्दै नयाँ समितिले विद्यालयको विकास र शैक्षिक गुणस्तर अभिवृद्धिमा थप योगदान पुर्याउनुपर्नेमा जोड दिए।
त्यसैगरी, दक्ष प्रशिक्षक तथा समाजसेवी सुजित चौधरीले विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तर र विद्यार्थीहरूमा देखिएको सदाचारको प्रशंसा गर्दै आगामी दिनमा विकास निर्माण तथा शैक्षिक सुधारका लागि अनुभवी व्यक्तिहरूको सल्लाह लिन छुट्टै सल्लाहकार समिति गठन गर्न सकिने सुझाव दिए।
भेलामा समाजसेवी घुरन राइन, बीआईडीसीका पूर्व अध्यक्ष दिपेश चौधरी, सेवा निवृत्त प्रधानाध्यापक राजेन्द्र गिरी, श्री चौठी लगायत विभिन्न क्षेत्रका व्यक्तित्व तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
अध्यक्षता गरेका शिक्षा शाखा प्रमुख हरिनारायण सिंहले भेलामा सहभागी सम्पूर्ण अभिभावक, अतिथि, शिक्षक, विद्यार्थी तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए। त्यसपछि सहभागीहरूबीच सामान्य चियापान तथा सामूहिक फोटो सेसनसमेत गरिएको थियो।
विद्यालय परिवारले अभिभावक भेलालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अभिभावक, अतिथि, शिक्षक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी तथा सहयोगी हातहरूप्रति आभार व्यक्त गरेको छ।
नयाँ व्यवस्थापन समितिको गठनसँगै विद्यालयको भौतिक विकास, व्यवस्थापकीय सुधार र शैक्षिक गुणस्तर अभिवृद्धिमा थप गति मिल्ने अपेक्षा गरिएको छ।















