लाल बिहारी यादव | सिरहादर्पण, लहान । ८ कात्तिक २०८३

सिरहाको लहानमा गत असोज २७ गतेदेखि सञ्चालन हुँदै आएको ‘दशैं–तिहार उत्सव मेला–२०८३’ विभिन्न सांस्कृतिक प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक कार्यक्रम र उल्लेख्य दर्शक सहभागिताका बीच आज (कात्तिक ८ गते) सफलतापूर्वक सम्पन्न भएको छ।

थारू कल्याणकारिणी सभा सिरहा, लहानको आयोजनामा लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालित १२ दिने मेलाले थारू समुदायको मौलिक कला, संस्कृति, भाषा, भेषभूषा, खानपिन तथा परम्परागत नाचगानको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य लिएको थियो। साथै, विभिन्न जातजाति तथा समुदायका कला, संस्कृति र परम्परालाई एउटै मञ्चमा प्रस्तुत गरी आपसी सद्भाव, सांस्कृतिक एकता र सामाजिक सहिष्णुता अभिवृद्धि गर्ने प्रयाससमेत गरिएको आयोजकले जनाएको छ।

मेलाको उद्घाटन लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो। समापन समारोहमा मधेस प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कला संस्कृतिको संरक्षण र पुस्तान्तरणमा जोड

समापन समारोहमा भाषा, साहित्य तथा संस्कृतिका क्षेत्रमा चासो राख्ने बुधशैर चौधरीले सबै समुदायलाई सहभागी गराएर पुरानो पुस्ताका पौराणिक तथा मौलिक कला संस्कृतिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले यस्ता कार्यक्रमले स्थानीय स्तरमा लुकेर रहेका मौलिक कला र संस्कृतिलाई उजागर गर्नुका साथै तिनको महत्वबारे नयाँ पुस्तालाई जानकारी गराउने बताउनुभयो।

त्यसैगरी स्थानीय दिग्गज तथा बौद्धिक युवा नेता अजय चौधरीले मेलाको मुख्य उद्देश्य थारू कला संस्कृतिको प्रवर्द्धन गर्नु, पुरानो पुस्ताबाट नयाँ पुस्तामा सांस्कृतिक सम्पदा हस्तान्तरण गर्नु र विभिन्न समुदायका मौलिक कला संस्कृतिको सम्मान गर्नु रहेको बताउनुभयो। उहाँका अनुसार सांस्कृतिक प्रदर्शनीमार्फत नयाँ पुस्तालाई आफ्नो पहिचान, परम्परा र मौलिकताप्रति सचेत गराउन सकिन्छ।

केन्द्रीय उपाध्यक्ष हरिदेवी चौधरीको स्पष्ट मन्तव्यले तान्यो ध्यान

समापन समारोहमा थारू कल्याणकारिणी सभाकी केन्द्रीय उपाध्यक्ष हरिदेवी चौधरीको मन्तव्यले उपस्थित स्रोताको विशेष ध्यान आकर्षित गरेको थियो। उहाँले कार्यक्रमको सफलताप्रति खुसी व्यक्त गर्दै प्रारम्भमा यस कार्यक्रमले संस्थाको प्रतिष्ठामा आँच पुर्‍याउने हो कि भन्ने चिन्ता आफूलाई रहेको स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, ‘यति ठूलो कार्यक्रम सफल होला कि नहोला भन्ने चिन्ता थियो। केन्द्रीय उपाध्यक्षसहित जिल्लामा दुई–दुई जना सदस्य रहेको अवस्थामा कार्यक्रम व्यवस्थापन र सफलताबारे म गम्भीर थिएँ। त्यसैले आफ्नै पहलमा विश्वासिला चार जनालाई सधैँ कार्यक्रमस्थलमा पठाएर दैनिक जानकारी लिने र कार्यक्रमको अवस्थाबारे अपडेट रहने गरेकी थिएँ। तर अन्ततः कार्यक्रम सराहनीय रूपमा सम्पन्न भयो। यसका लागि थारू कल्याणकारिणी सभालाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु।’

उहाँले विशेषगरी सत्य बचन टिमको धुम्रा नाचको प्रशंसा गर्दै उक्त प्रस्तुतिले आफूलाई निकै आकर्षित गरेको बताउनुभयो। टिमले आफ्नो प्रस्तुतिमार्फत दर्शकमाझ छुट्टै छाप छोडेर जानुपर्ने सुझाव दिँदै यस्ता मौलिक नाचलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।

साथै उहाँले आमाहरूलाई आफ्ना बालबालिकाको शिक्षादीक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभयो भने पुरुषहरूलाई साँझको समय आफ्ना छोराछोरीसँग बिताउन र परिवारप्रति जिम्मेवार बन्नसमेत बौद्धिक सुझाव दिनुभयो।

धुम्रा नाच संरक्षण चुनौतीपूर्ण : प्रदेशसभा सदस्य चौधरी

समापन समारोहका प्रमुख अतिथि मधेस प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले केही कमीकमजोरी रहे पनि समग्रमा मेला सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो। उहाँले थारू समुदायको मौलिक पहिचानसँग जोडिएको धुम्रा नाचको संरक्षण अहिले चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै यसको निरन्तरता र प्रवर्द्धनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो।

उहाँले थारू संस्कृति र पहिचानको संरक्षणका लागि हाती दह क्षेत्रमा थारू सांस्कृतिक गतिविधि सञ्चालन गर्न उपयुक्त वातावरण बनाउन आफूले एउटा भवन निर्माण गरिदिने उद्घोषसमेत गर्नुभयो। उहाँको यस प्रतिबद्धतालाई उपस्थित सहभागीहरूले सकारात्मक रूपमा लिएका थिए।

थारू कला संस्कृति संरक्षणका लागि ‘थारू डान्स एकेडेमी’ सञ्चालन गर्ने घोषणा

कार्यक्रमको अध्यक्षता तथा समापन मन्तव्य राख्दै थारू कल्याणकारिणी सभाका अध्यक्ष सत्यनारायण चौधरीले थाकस कला, संस्कृति र सामाजिक पहिचानको संरक्षणमा समर्पित संस्था रहेको बताउनुभयो।

उहाँले थारू समुदायका मौलिक गीत, नाद, खानपिन तथा परम्परागत परिकारको व्यापक पहिचान स्थापित गर्नुपर्नेमा जोड दिनुभयो। चाचैर, विरहैन र धुम्राजस्ता थारू समुदायको पहिचानसँग जोडिएका परम्परागत नाचगान तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै तिनलाई नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको उहाँको भनाइ थियो।

यसका लागि विभिन्न कला तथा सांस्कृतिक विधासम्बन्धी तालिम सञ्चालन गर्ने र लहानमा ‘थारू डान्स एकेडेमी’ स्थापना गरी सञ्चालन गर्ने योजना रहेको उहाँले सार्वजनिक गर्नुभयो।

चौधरीले थारू समुदायको पहिचान संरक्षण गर्नु आफ्नो संस्थाको प्रमुख दायित्व भए पनि अन्य सबै समुदायका भाषा, संस्कृति र पहिचानलाई उत्तिकै सम्मान गर्ने स्पष्ट पार्नुभयो।

सामाजिक सञ्जालमा कतिपय व्यक्तिले कार्यक्रमप्रति विमतिपूर्ण टिप्पणी गरेको सुनेको उल्लेख गर्दै उहाँले त्यस्ता टिप्पणीलाई आफूले सहज रूपमा लिएको बताउनुभयो। असहमति राख्ने जोकोहीलाई प्रत्यक्ष भेटेर वा आफ्नो मोबाइल नम्बरमा सम्पर्क गरेर भए पनि वैचारिक संवाद गर्न आफू तयार रहेको उहाँको भनाइ थियो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारको प्रस्तुतिले तान्यो दर्शक

मेलाको सुरुदेखि अन्तिम दिनसम्म विभिन्न राष्ट्रिय तथा स्थानीय स्तरमा ख्याति कमाएका कलाकारहरूले आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए। कलाकार प्रीति पासमान, गायक सन्नु कुमार, गंगु क्षेत्री, अनु चौधरीलगायत दर्जनौँ कलाकारको गीत, संगीत तथा नृत्य प्रस्तुतिले मेलामा दर्शकको उल्लेख्य उपस्थिति गराएको थियो।

विशेषगरी प्रीति पासमान र गायक सन्नु कुमारको प्रस्तुतिका दिन दर्शकको ठूलो भीड लागेको आयोजक पक्षले जनाएको छ।

कार्यक्रमलाई सुरुदेखि अन्तिमसम्म कुशलतापूर्वक सञ्चालन गर्नुभएका होस्ट प्रमोद चौधरीले इभेन्ट म्यानेजर विनोद चौधरीलाई उद्धृत गर्दै प्रीति पासमानको प्रस्तुति रहेको दिन करिब चार हजार पाँच सय टिकट बिक्री भएको र करिब चार हजार दर्शक टिकट नलिई प्रवेश गरेको जानकारी दिनुभयो। यसअनुसार उक्त दिन करिब नौ हजार दर्शकको उपस्थिति रहेको अनुमान गरिएको छ।

त्यस्तै, गायक सन्नु कुमारको प्रस्तुति रहेको दिन करिब आठ हजार दर्शकले कार्यक्रम अवलोकन गरेको जानकारी पनि उहाँले दिनुभयो।

टिकट दरमा परिवर्तन हुँदा केही असन्तुष्टि

मेलामा दर्शक प्रवेशका लागि सुरुमा साधारण टिकट शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ निर्धारण गरिएको थियो। पछि आएर उक्त शुल्क बढाई दुई सय रुपैयाँ कायम गरिएको थियो। टिकट दरमा गरिएको परिवर्तनप्रति स्थानीयस्तरमा कतिपय दर्शक तथा सर्वसाधारणले असन्तुष्टि व्यक्त गरेको आवाजसमेत सुनिएको थियो।

यद्यपि, कलाकारहरूको प्रस्तुति, सांस्कृतिक कार्यक्रम र मनोरञ्जनात्मक गतिविधिका कारण मेलामा उल्लेख्य दर्शक सहभागिता देखिएको थियो। आगामी दिनमा यस्ता कार्यक्रम आयोजना गर्दा टिकट दर, दर्शकको पहुँच र व्यवस्थापनका विषयमा थप स्पष्टता तथा पारदर्शिता अपनाउनुपर्ने देखिन्छ।

उत्कृष्ट प्रस्तुति दिने समूहलाई पुरस्कार तथा सम्मान

मेलामा झिझिया लगायत विभिन्न लोकसंस्कृति, परम्परागत गीत, नृत्य तथा रीतिरिवाजमा आधारित सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिएका थिए। सहभागी समूहहरूबीच स्वस्थ प्रतिस्पर्धा गराई उत्कृष्ट प्रस्तुति दिने समूहलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरिएको थियो।

त्यसैगरी प्रतियोगितामा सहभागी अन्य सबै समूहलाई समेत सम्मानजनक पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ। समापन समारोहमा विभिन्न तह र तप्काका अतिथि तथा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो।

कार्यक्रममा मुख्य प्रायोजकका रूपमा महाराजगञ्ज, काठमाडौँस्थित सरस वेभरेज प्रा.लि. रहेको थियो भने मिडिया पार्टनरका रूपमा रेडियो समाद, सम्भावना खबर अनलाइन, नेपालपोष्ट दैनिक र तराई फिलिक्स अनलाइनले सहकार्य गरेका थिए।

संस्कृति संरक्षण संवैधानिक दायित्वसमेत

नेपालको संविधानको धारा ३२ ले भाषा तथा संस्कृतिसम्बन्धी हक सुनिश्चित गरेको छ। उक्त धाराले प्रत्येक व्यक्ति तथा समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति र सांस्कृतिक सभ्यताको संरक्षण तथा संवर्द्धन गर्ने अधिकार प्रदान गरेको छ। त्यसैगरी संविधानको धारा ५१ मा भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा विकाससम्बन्धी राज्यका नीतिहरू उल्लेख छन्।

यस संवैधानिक व्यवस्थाको मर्मअनुसार स्थानीय तहमा आयोजना हुने यस्ता सांस्कृतिक मेलामहोत्सव मनोरञ्जनमा मात्र सीमित नभई समुदायको मौलिक पहिचान संरक्षण, सांस्कृतिक विविधताको सम्मान र पुस्तान्तरणका महत्वपूर्ण माध्यम बन्न सक्छन्।

समग्रमा, केही व्यवस्थापकीय कमजोरी र टिकट दरसम्बन्धी असन्तुष्टिका आवाज सुनिए पनि १२ दिनसम्म सञ्चालन भएको दशैं–तिहार उत्सव मेला–२०८३ ले लहानमा सांस्कृतिक गतिविधिलाई नयाँ ऊर्जा दिएको छ। विशेषगरी थारू समुदायको मौलिक कला संस्कृतिलाई सार्वजनिक मञ्चमा प्रस्तुत गर्नुका साथै अन्य समुदायका सांस्कृतिक पहिचानलाई समेत सम्मान गर्ने प्रयासले मेलालाई थप अर्थपूर्ण बनाएको छ।

अब मेलाका क्रममा व्यक्त गरिएका थारू डान्स एकेडेमी सञ्चालन, हाती दहमा सांस्कृतिक भवन निर्माण तथा मौलिक नाचगानको संरक्षणसम्बन्धी प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुनु आवश्यक देखिन्छ। त्यसो हुन सकेमा यस वर्षको मेला केवल मनोरञ्जनको कार्यक्रम नभई लहानको सांस्कृतिक पहिचान संरक्षण र प्रवर्द्धनको दीर्घकालीन अभियान बन्न सक्ने अपेक्षा गर्न सकिन्छ।