लाल बिहारी यादब, सिरहा दर्पण 

लहान, सिरहा । मधेस प्रदेशसभा सदस्य ललिता दास विद्रोहीले दशैंका अवसरमा लहानस्थित ऐतिहासिक दुर्गा मन्दिरअगाडि भएको झिझिया नाचका क्रममा लहान नगरपालिकाका मेयर महेश चौधरी तथा उहाँको परिवारलाई जोडेर गरेको अभिव्यक्तिप्रति सार्वजनिक रूपमा क्षमायाचना गरेकी छन्।

विद्रोहीले सामाजिक सञ्जालमार्फत सार्वजनिक क्षमायाचना गर्दै उक्त घटनासँग सम्बन्धित भिडियो आफ्नै फेसबुक पेजबाट सार्वजनिक गरेको विषयमा समेत गम्भीर आत्मसमीक्षा गरेको उल्लेख गरेकी छन्।

उनले आफ्नो अभिव्यक्ति तथा व्यवहारबाट मेयर महेश चौधरी र उहाँको परिवारसहित सर्वसाधारणमा पर्न गएको दुःख, असहजता र असरप्रति दुःख व्यक्त गरेकी छन्।

सार्वजनिक जीवनमा रहेका व्यक्तिका शब्द र व्यवहारले समाजमा पार्ने प्रभावलाई आत्मसात् गर्दै आगामी दिनमा बोल्दा र व्यवहार गर्दा अझ बढी संयमित, जिम्मेवार तथा मर्यादित रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरेकी छन्।

झिझिया नाचका क्रममा भएको उक्त अभिव्यक्ति र त्यसपछि सार्वजनिक भएको भिडियोले लहानमा विवाद सिर्जना गरेको थियो। सोही विषयमा प्रदेशसभा सदस्य विद्रोहीले सामाजिक सञ्जालमार्फत क्षमायाचना गरेकी हुन्।