७ कात्तिक २०८३, लहान–सिरहा ।

लाल बिहारी यादव, सिरहादर्पन ।

लहान नगरपालिका वडा नं. १५ मा ४० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको नवनिर्मित वडा कार्यालय भवनको शनिबार एक समारोहबीच समुद्घाटन गरिएको छ। विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत आयोजना गरी भवनको समुद्घाटन गरिएको हो।

वडा नं. १५ का अध्यक्ष तेजनारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरी प्रमुख अतिथि रहनुभएको थियो भने पूर्व वडाध्यक्ष गौरीबहादुर भट्ट विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमस्थलमा पुग्नुभएका नगरप्रमुख चौधरीलाई नवनिर्मित वडा कार्यालयको प्रवेशद्वारमा पुष्पगुच्छासहित स्वागत तथा सम्मान गरिएको थियो। त्यसपछि उहाँले रिबन काटेर भवनमा प्रवेश गर्नुभयो। वडा अध्यक्ष तेजनारायण चौधरीलाई वडा अध्यक्षको कार्यकक्षमा रहेको अध्यक्षको आसनमा आसन ग्रहण गराई नगरप्रमुख चौधरीले शिलापत्रमा उल्लेखित विवरण वाचन गर्नुभयो। त्यसपछि झण्डोत्तोलन गरी नवनिर्मित भवनको औपचारिक समुद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै नगरप्रमुख महेशप्रसाद चौधरीले वडा नं. १५ को विगतको अवस्था आफूले विभिन्न क्षेत्रमा कमजोर र नाजुक देखेको स्मरण गर्दै स्थानीय नागरिकको आवश्यकता र चाहनाअनुसार शिक्षा, स्वास्थ्य, सडक, पर्यटन, संस्कृति तथा सामाजिक क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजन गरिएको बताउनुभयो। विकासका कामबाट स्थानीय नागरिकले प्रत्यक्ष अनुभूति गर्ने र जनताको मुहारमा मुस्कान ल्याउन सकेकोमा आफू गौरवान्वित भएको उहाँको भनाइ थियो।

वडा अध्यक्ष तेजनारायण चौधरीले लहान नगरपालिकाको सबैभन्दा ठूलो वडा वडा नं. १५ मा पछिल्लो समय चौतर्फी विकास भएको बताउनुभयो। उहाँले वडाका विभिन्न विद्यालयमा भवन निर्माण, सामुदायिक भवन निर्माण तथा अधिकांश सडक पक्की बनाउने काम सम्पन्न भएको उल्लेख गर्नुभयो। त्यसैगरी हात्ती दह, पञ्चवती मन्दिरलगायत पर्यटकीय क्षेत्रको विस्तार र सुधारका लागि आवश्यक बजेट उपलब्ध गराएकोमा नगरप्रमुख महेशप्रसाद चौधरीप्रति आभार व्यक्त गर्नुभयो।

नगरपालिकाका २४ वटै वडालाई समान रूपमा प्रत्येक वर्ष ५०/५० लाख रुपैयाँ बजेट उपलब्ध गराई समानताको सिद्धान्त अपनाउनु नगरप्रमुख चौधरीको व्यक्तिगत विशेषता भएको अध्यक्ष चौधरीले बताउनुभयो।

हात्ती दह पर्यटन क्षेत्रका अध्यक्ष रुद्रनारायण चौधरीले लहानमा विकासको लहर ल्याउन नगरप्रमुख महेशप्रसाद चौधरीले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँप्रति धन्यवाद व्यक्त गर्नुभयो।

त्यस्तै समाजसेवी बलिराम चौधरीले नवनिर्मित वडा कार्यालय भवन वडावासीका लागि गौरवको विषय भएको बताउँदै अब स्थानीय जनताले सुशासन कायम गर्न सहयोग गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले भवन निर्माणका लागि योगदान पुर्‍याउने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।

वडा कार्यालय भवनको आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको उल्लेख गर्दै पशुपति चौधरीले नगरप्रमुख महेशप्रसाद चौधरीको पहलमा यति सुविधासम्पन्न भवन निर्माण भएपछि स्थानीयवासीको आवश्यकता पूरा भएको र आफूहरू अत्यन्त खुसी भएको बताउनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि तथा पूर्व वडाध्यक्ष गौरीबहादुर भट्टले विगतमा सानो झुपडीजस्तो भवनमा बसेर वडा कार्यालयको कामकाज गर्नुपर्ने बाध्यात्मक अवस्थाबाट अहिले निकै राम्रो परिवर्तन आएको बताउनुभयो। उहाँले नवनिर्मित वडा कार्यालय भवनलाई नमुना भवनको संज्ञा दिँदै यसको निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने वर्तमान वडा अध्यक्ष तेजनारायण चौधरीलाई मुरीमुरी धन्यवाद दिनुभयो।

कार्यक्रमका अवसरमा १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकलसमेत प्रदान गरिएको थियो।

लहान नगरपालिका वडा नं. १५ को आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, सामाजिक अगुवा, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले वडा नं. १५ को विकास निर्माणमा नगरप्रमुख महेशप्रसाद चौधरीले पुर्‍याउनुभएको योगदानको चौतर्फी प्रशंसा गरेका थिए।

कार्यक्रमको उद्घोषण मावि ढोढनाका शिक्षक दोस्तबहादुर भट्टराईले गर्नुभएको थियो। उहाँको उच्चस्तरीय र प्रभावकारी उद्घोषण शैलीले कार्यक्रमलाई थप आकर्षक र व्यवस्थित बनाएको सहभागीहरूले बताएका थिए।