७ कार्तिक २०८३


लाल बिहारी यादव, सिरहादर्पण, लहान।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६, सीतापुरमा विगत करिब ११ वर्षदेखि रोक्का रहेको रामजानकी गुठीको जग्गा फुकुवा भएसँगै स्थानीय जग्गाधनीहरूले लालपुर्जा प्राप्त गर्न थालेका छन्। लामो समयदेखि जग्गासम्बन्धी समस्या भोग्दै आएका स्थानीयवासीका लागि यो महत्वपूर्ण उपलब्धि बनेको छ।

सिरहा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताको पहल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६ का सभापति रञ्जित कुमार यादवको निरन्तर प्रयास तथा सम्बन्धित मालपोत कार्यालयका प्रमुखको सहयोगमा जग्गा फुकुवा प्रक्रिया अघि बढेको हो।

२०७२ सालदेखि रोक्का रहेको उक्त जग्गाका कारण स्थानीय बासिन्दाले आफ्नो सम्पत्ति किनबेच गर्न, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन र अन्य आर्थिक कारोबार गर्नसमेत कठिनाइ भोग्दै आएका थिए।

प्राप्त जानकारीअनुसार रामजानकी गुठीअन्तर्गत रोक्का रहेका करिब ४७० कित्ता जग्गाबाट ६०० भन्दा बढी व्यक्ति प्रभावित भएका थिए। जग्गा फुकुवा भएपछि लालपुर्जा वितरण प्रक्रिया सुरु भएको छ। हालसम्म पाँच जना जग्गाधनीले लालपुर्जा प्राप्त गरिसकेको र बाँकी जग्गाधनीले पनि क्रमशः लालपुर्जा पाउने अपेक्षा गरिएको रास्वपा वडा सभापति रञ्जित कुमार यादवले जानकारी दिएका छन्।

यादवले लामो समयदेखि स्थानीयवासीले भोग्दै आएको जग्गासम्बन्धी समस्या समाधानका लागि पहल गर्ने प्रतिनिधिसभा सदस्य बब्लु गुप्ता, मालपोत कार्यालयका प्रमुख तथा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति आभार व्यक्त गरेका छन्।

उनका अनुसार जग्गा फुकुवा हुनु केवल लालपुर्जा प्राप्त गर्ने विषय मात्र नभई स्थानीय नागरिकको सम्पत्तिसम्बन्धी हक, अधिकार र आर्थिक स्वतन्त्रता सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम हो।

करिब ११ वर्षसम्म अन्योलमा रहेका स्थानीयवासीले अब आफ्नो जग्गाको स्वामित्वसम्बन्धी अधिकार सहज रूपमा उपयोग गर्न पाउने आशा पलाएको छ। बाँकी सबै जग्गाधनीले समेत यथाशीघ्र लालपुर्जा प्राप्त गर्ने वातावरण बनाउन सम्बन्धित निकायले आवश्यक प्रक्रिया छिटो अघि बढाउनुपर्ने स्थानीयको अपेक्षा छ।