६ कार्तिक २०८३
लाल बिहारी यादव
सिरहादर्पण, लहान।

सिरहा जिल्लाका सामुदायिक विद्यालयतर्फ एसईई २०८३ मा छात्रातर्फ ३.९२ जीपीए ल्याएर उत्कृष्ट भएकी चन्द्रिका कुमारी यादवलाई गोपाल सेवा समिति लहानले सम्मान गरेको छ। समितिद्वारा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उनलाई सम्मानपत्र र मेडल प्रदान गरिएको हो।

चन्द्रिका कार्यक्रममा उपस्थित हुन नसकेपछि उनी अध्ययनरत रा.म.या. जनता माध्यमिक विद्यालय सीतापुरका शिक्षक लाल बिहारी यादवमार्फत सम्मान प्रदान गरिएको थियो।

समितिका अध्यक्ष धनेश्वर यादवको अध्यक्षता तथा भूतपूर्व सोठिआइन गाविस अध्यक्ष एवं 'बबुवान' नामले परिचित बालकृष्ण यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा यादव समुदायको सामाजिक, शैक्षिक तथा आर्थिक विकासका विषयमा समेत व्यापक कुरा उठेको थियो।

कार्यक्रममा समितिका पूर्वअध्यक्षहरू विशेश्वर यादव र रामविनय यादव, मूल समितिका संरक्षक हरिनारायण यादवसहित वर्तमान तथा पूर्वपदाधिकारी, सदस्य र सिरहा जिल्लाका विभिन्न क्षेत्रका गणमान्य व्यक्तित्वहरूको सहभागिता थियो। कार्यक्रम सञ्चालन समितिका सचिव भोगेन्द्र यादवले गरेका थिए।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले समाजमा व्याप्त दहेज प्रथा उन्मूलन तथा अनावश्यक रूपमा बढ्दै गएको मृत्यु भोज न्यूनीकरण गर्न गोपाल सेवा समितिले अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। साथै आर्थिक रूपमा विपन्न, जेहेनदार तथा प्रतिभाशाली यादव समुदायका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने सुझावसमेत दिएका थिए।

यसै क्रममा शिक्षा क्षेत्रमा उच्च पहिचान बनाउन सफल माध्यमिक विद्यालय वेतहा भवानीपुरका प्रधानाध्यापक रामविलास यादवले आफूले सञ्चालन गर्दै आएको अध्यापन अनुमति पत्र तथा शिक्षक सेवा आयोगको परामर्श र तयारी कक्षामा समितिले सिफारिस गरेका यादव समुदायका व्यक्तिहरूलाई निःशुल्क सहभागी गराउने घोषणा गरे।

साथै यादव अध्ययन गरेकी उक्त विद्यालयका कक्षा १० का विद्यार्थीलाई लक्षित गरी नौ महिनासम्म सञ्चालन गरिएको अतिरिक्त कोचिङ कक्षाको प्रभावले विद्यालयले २०६३ सालयताकै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताइएको थियो। कोचिङमा सहभागी विद्यार्थीमध्ये पाँच जनाले ए प्लस ग्रेड प्राप्त गरेका थिए।
   उक्त कोचिङ कक्षा असारदेखि फागुन मसान्तसम्म सञ्चालन गरिएको थियो। डोटीको देहीमाडौँस्थित एक विद्यालयमा कार्यरत विज्ञान शिक्षक यामुनप्रसाद यादवले विज्ञान, माध्यमिक विद्यालय खरुक्याहीका गणित शिक्षक जगदीश यादवले गणित तथा माध्यमिक विद्यालय सीतापुरका शिक्षक लाल बिहारी यादवले अंग्रेजी र नेपाली दुबै विषय अध्यापन गरेका थिए। कोचिङ कक्षाले विद्यार्थीको नतिजा प्राप्तिमा महत्वपूर्ण योगदान पुर्‍याएको कुरा नतिजा सार्वजनिक हुँदा विद्यालयका प्रधानाध्यापक काशेन्द्रप्रसाद यादवले समेत बताएका थिए।

कार्यक्रमको समापन गर्दै अध्यक्ष धनेश्वर यादवले समितिको भवनलाई व्यवस्थित र सुविधासम्पन्न बनाउने कामलाई अहिले प्राथमिकता दिइएको बताए। भवनको दोस्रो तलाका कोठाहरू पूर्ण रूपमा तयार पार्ने तथा चार–पाँचवटा एसी जडानसहितको पूर्वाधार निर्माण सम्पन्न गराउन आफूले अधिकांश समय खर्च गरिरहेको उनको भनाइ थियो। भौतिक पूर्वाधारको काम पूरा भएपछि प्राथमिकताका आधारमा सामाजिक, शैक्षिक तथा समुदायको हितमा थप कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

कार्यक्रमले यादव समुदायमा सामाजिक कुरीति अन्त्य, शिक्षा प्रवर्द्धन, प्रतिभाको सम्मान र संस्थागत विकासलाई प्राथमिकतामा राख्नुपर्ने सन्देश दिएको छ।