लाल बिहारी यादव

सिरहादर्पण, लहान–सिरहा।

सिरहाको लहानमा विजयादशमीको अवसरमा आयोजना गरिएको दुर्गा पूजा तथा झिझिया नृत्यलाई लिएर राजनीतिक विवाद चर्किएको छ। मधेश प्रदेशसभा सदस्य ललिता दासले लहान नगरप्रमुख महेशप्रसाद चौधरीमाथि टिप्पणी गर्दै उनका परिवारका सदस्यलाई समेत लक्षित गरी अपमानजनक शब्द प्रयोग गरेको विषय सार्वजनिक भएपछि विवाद थप चुलिएको हो।

यस विषयमा नगरप्रमुख चौधरीले पत्रकार सम्मेलन आयोजना गर्दै सांसद दासको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले आफूमाथि लगाइएका आरोप निराधार र गलत भएको दाबी गर्दै व्यक्तिगत तथा पारिवारिक चरित्रमाथि आक्षेप लगाउने कार्य निन्दनीय रहेको बताएका छन्।

पत्रकार सम्मेलनमा नगरप्रमुख चौधरीले राति करिब साढे १० बजेतिर प्रदेशसभा सदस्य ललिता दासले आफूमाथि लगाएको आरोपलाई सञ्चारमाध्यममार्फत खण्डन गर्दै झिझिया नृत्य मधेश प्रदेशका विभिन्न जिल्लामा आयोजना हुने सांस्कृतिक कार्यक्रम भएको स्पष्ट पारे।

उनले भने, "झिझिया मधेश प्रदेशभरि नै भइराखेको छ, लहानमा मात्रै भएको होइन। लहानमा भएकोले नगरप्रमुखको हैसियतले मलाई जिम्मेवार ठहर्‍याउनु उहाँको भनाइमा उचित होला, तर दुर्गा पूजा तथा मेला सञ्चालन गर्ने जिम्मेवारी मेला समितिको हो। कहाँ झिझिया गर्ने र कुन कार्यक्रम सञ्चालन गर्ने भन्ने कुरा समितिले निर्धारण गर्छ।"

लोकतान्त्रिक व्यवस्थामा कुनै पनि विषयमा विरोध र असहमति जनाउन पाउनु स्वाभाविक भए पनि विरोधका नाममा आफ्नो आमा, बुवा र श्रीमतीलाई समेत लक्षित गरी 'डायन' तथा 'बोक्सी' जस्ता शब्द प्रयोग गर्नु कति उचित हो भन्ने प्रश्न उनले उठाए।

चौधरीले सार्वजनिक पदमा रहेका व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनु गम्भीर विषय भएको उल्लेख गर्दै प्रहरी प्रशासन, गृह मन्त्रालय तथा सम्बन्धित निकायलाई घटनाको छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सञ्चारमाध्यममार्फत आग्रहसमेत गरेका छन्।

कांग्रेसद्वारा आपत्ति, कारबाहीको माग

यसैबीच नेपाली कांग्रेस लहान नगर कार्यसमितिले २०८३ असोज २८ गते प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य ललिता दासको अभिव्यक्तिप्रति घोर आपत्ति जनाएको छ।

नगर सभापति उमेश चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विजयादशमीको अवसरमा हरेक वर्षझैँ यस वर्ष पनि लहानमा भव्य दुर्गा पूजा आयोजना हुँदै आएको र सोही अवसरमा यहाँका दर्जनौँ गाउँका दिदीबहिनीहरू दुर्गा मन्दिर परिसरमा झिझिया खेल्न आउने गरेको उल्लेख छ।

विज्ञप्तिमा झिझियासँग जोडेर नगरप्रमुख महेशप्रसाद चौधरीमाथि तुच्छ टिप्पणी गर्नुका साथै उहाँको सम्पूर्ण परिवारलाई जोडेर अपशब्द प्रयोग गरिएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

सांसदजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट अमर्यादित क्रियाकलाप हुनु निन्दनीय रहेको भन्दै नेपाली कांग्रेस लहान नगर कार्यसमितिले सांसद दासमाथि अविलम्ब कारबाही गर्न प्रहरी प्रशासनसँग जोडदार माग गरेको छ।

सामाजिक सञ्जालमा पनि तीव्र प्रतिक्रिया

घटनापछि सामाजिक सञ्जालमा समेत विभिन्न व्यक्तिहरूले आ–आफ्ना धारणा सार्वजनिक गरेका छन्। अधिकांश प्रतिक्रियामा सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो पदको मर्यादा कायम राख्नुपर्ने र कसैको व्यक्तिगत तथा पारिवारिक प्रतिष्ठामाथि आक्षेप लगाउने कार्य स्वीकार्य नहुने धारणा व्यक्त गरिएको छ।

महेश्वर साहले सम्बन्धित विषय प्रदेशसभामा उठाउनुपर्नेमा व्यक्तिगत रिसइबीका आधारमा कसैको आमा, श्रीमती तथा छोरीहरूमाथि गालीगलौज गर्ने र अभद्र व्यवहार गर्ने जोकोहीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव दिएका छन्।

कविता कार्की रायले पदको मर्यादा बुझ्नुपर्ने उल्लेख गर्दै मन्दिरजस्तो पवित्र स्थानमा यस्तो अभिव्यक्ति दिनु उचित नभएको प्रतिक्रिया दिएकी छन्। त्यस्तै दिलीप चौधरीले सामाजिक तथा सांस्कृतिक धरातल बिर्सेर जिम्मेवार पदमा बसेको व्यक्तिले यस्तो व्यवहार गर्नु नहुने भन्दै कानुनबमोजिम कारबाही हुनुपर्ने बताएका छन्।

रामकुमारले पनि घटनामा कानुनी कारबाही हुनुपर्ने धारणा राखेका छन्। प्रिय रञ्जन उपाध्यायले जनप्रतिनिधिले अर्को जनप्रतिनिधिको सम्मान गर्नुपर्ने भन्दै सम्बन्धित व्यक्तिले माफी माग्नुपर्ने र संविधान तथा सम्मानको रक्षा हुनुपर्ने बताएका छन्। बिलट नारायण रायले जिम्मेवार पदमा बसेर तुच्छ व्यवहार गर्नु उचित नभएको भन्दै नियमानुसार कारबाही हुनुपर्ने प्रतिक्रिया दिएका छन्।

लक्ष्मण पण्डितले नाचगानको कार्यक्रम सञ्चालनमा नगरप्रमुखको प्रत्यक्ष भूमिका नहुने र कार्यक्रमको तालिका नगरप्रमुखले तयार नगर्ने उल्लेख गर्दै त्यसमा उहाँको आमा, बुवा र श्रीमतीलाई जोडेर अपशब्द प्रयोग गर्नु कानुनी रूपमा समेत गलत हुन सक्ने बताएका छन्।

त्यसैगरी सञ्जीव चौधरीले कसैको व्यक्तिगत तथा पारिवारिक चरित्रहत्या सामाजिक सञ्जालमा खुलेआम गर्न नपाइने भन्दै कानुनी प्रक्रियामार्फत कारबाही हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

उद्धव हमालले सार्वजनिक पदमा रहेकी प्रदेशसभा सदस्यले पदको गरिमा कायम राख्नुपर्ने उल्लेख गर्दै नगरप्रमुखकी पत्नी तथा दिवंगत आमासमेतलाई लक्षित गरी 'डायन' भन्ने अभिव्यक्ति दिनु निन्दनीय भएको बताएका छन्। उनले एक महिलाले अर्को महिलाको सम्मान गर्नुपर्नेमा सार्वजनिक रूपमा अपमान गर्नु भर्त्सनायोग्य रहेको भन्दै सम्बन्धित राजनीतिक दलले समेत कारबाही गर्नुपर्ने माग गरेका छन्। साथै झिझिया नृत्य मिथिलाको सांस्कृतिक पहिचानसँग जोडिएको लोकपरम्परा भएकाले त्यसप्रतिको असन्तुष्टि व्यक्त गर्ने नाममा कसैको व्यक्तिगत चरित्रहत्या गर्न नहुने उनको भनाइ छ।

मिथिलाको सांस्कृतिक पहिचानसँग जोडिएको झिझिया

झिझिया नेपाल र भारतको मिथिला तथा भोजपुरी क्षेत्रको परम्परागत सांस्कृतिक लोकनृत्य हो। विशेषगरी असोज महिनामा विजयादशमीको अवसरमा यो नृत्य प्रदर्शन गर्ने परम्परा रहिआएको छ।

धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार झिझिया नृत्य देवी दुर्गाप्रति भक्ति अर्पण गर्न तथा आफ्नो परिवार, बालबालिका र समाजलाई बोक्सी, नकारात्मक शक्ति र कालो जादूबाट सुरक्षित राख्ने विश्वाससँग जोडिएको छ।

मिथिलाका गाउँघरमा महिलाहरूले माटोको घैँटोमा प्वाल पारेर त्यसमा बत्ती बाल्दै टाउकोमा राखेर सामूहिक रूपमा झिझिया नृत्य गर्ने परम्परा छ। यो नृत्य केवल मनोरञ्जनको माध्यम मात्र नभई मिथिलाको मौलिक लोकसंस्कृति, धार्मिक आस्था र सामुदायिक एकताको प्रतीकका रूपमा समेत परिचित छ।

लहानमा झिझिया नृत्यलाई लिएर उत्पन्न विवादले अहिले राजनीतिक तथा सामाजिक बहसको रूप लिएको छ। एकातर्फ नगरप्रमुख चौधरीले आफ्नो परिवारको प्रतिष्ठामाथि आक्रमण भएको भन्दै कानुनी कारबाहीको माग गरेका छन् भने अर्कोतर्फ नेपाली कांग्रेसको नगर कार्यसमितिले समेत विज्ञप्तिमार्फत सांसद दासमाथि कारबाहीको माग गरेको छ।

झिझियाजस्तो पुस्तौँदेखि चलिआएको सांस्कृतिक परम्परालाई राजनीतिक विवादको विषय बनाउनुको सट्टा त्यसको संरक्षण र प्रवर्द्धन गर्नु आवश्यक देखिन्छ। राजनीतिक असहमति र आलोचना लोकतन्त्रका स्वाभाविक पक्ष हुन्, तर सार्वजनिक पदमा रहेका व्यक्तिहरूले समेत भाषा, व्यवहार र अभिव्यक्तिमा मर्यादा कायम राख्नु उत्तिकै जरुरी छ।

  यस बिषयमा  थप जानकारी लिन सिरहादर्पनसंग उपलब्ध  प्रदेश सांसद ललिता दास विद्रोहीको मोवाइल फोनमा क्यौं पटक फोन गरियो,फुल रिंग गयो।फोन उठेन।