१४ असोज बुधबार।
लालबिहारी यादव, सिरहादर्पण, लहान।
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ सितापुर (प्र.ध.)स्थित श्री रामा महन्थी यादव जनता माध्यमिक विद्यालयमा लक्ष्मीपुर पतारी गाउँकार्यपालिकाका शिक्षा अधिकृत रामबालक पासमानले बृहत् शैक्षिक तथा शैक्षणिक अनुगमन गरेका छन्। असोज १४ गते दिउँसो करिब १ बजेदेखि ४ बजेसम्म गरिएको अनुगमनका क्रममा विद्यालयको पठनपाठन, विद्यार्थीको उपस्थिति, सरसफाइ, भौतिक पूर्वाधार, शिक्षक–कर्मचारीको समयपालनलगायत विषयमा स्थलगत निरीक्षण गरिएको थियो।
अनुगमनपछि शिक्षा अधिकृत पासमानकै उपस्थितिमा शिक्षक, कर्मचारी तथा विद्यालय व्यवस्थापन समितिको संयुक्त बैठक बसेको थियो। बैठकमा अनुगमनका क्रममा देखिएका विषयलाई प्रस्तावका रूपमा राखी एकै दिन ११ वटा महत्वपूर्ण निर्णय गरिएको विद्यालयले जनाएको छ।
अनुगमनका क्रममा बालविकासदेखि कक्षा ३ तथा कक्षा ११ र १२ का विद्यार्थीलाई पाँच घन्टीपछि करिब २ः३० बजे नै छुट्टी दिने गरेको पाइएको थियो। विशेषगरी कक्षा ११ र १२ मा नेपाल सरकारको पाठ्यक्रमअनुसार आवश्यक ६ घण्टी पठनपाठन नभएको विषयमा शिक्षा अधिकृत पासमानले गम्भीर चासो व्यक्त गरेका थिए।
त्यस्तै, विद्यालयमा चारवटा शौचालय भए पनि उचित व्यवस्थापन तथा प्रयोगमा कमी रहेको, कक्षा १० का छात्रालाई शौचालय प्रयोगमा समस्या रहेको र शौचालय तथा आसपासको क्षेत्रमा फोहोर रहेको पाइएको थियो। विद्यालय परिसर तथा मैदानमा ठूलाठूला घाँस र झाङ बढेकाले सर्प तथा अन्य विषालु कीरा–फट्याङ्ग्राको जोखिमसमेत देखिएको अनुगमनका क्रममा उल्लेख गरिएको छ। विगतमा कक्षाकोठामा जडान गरिएका दर्जनौँ पंखाका स्विच, तार तथा पावर सकेटसमेत टुटफुट भई प्रयोगविहीन अवस्थामा रहेको पाइएको थियो।
विव्य समितिका जेष्ठ सदस्य गौरी नारायण यादबको अध्यक्षतामा बसेका बैठकले अबदेखि सबै कक्षाका विद्यार्थीलाई अपराह्न ४ बजे मात्र एकै समयमा छुट्टी गर्ने, एक साताभित्र विद्यालय परिसर सफा गरी आवश्यक स्थानमा डस्टबिन राख्ने तथा शिक्षक–कर्मचारी बिहान १० बजे विद्यालयमा उपस्थित भई अपराह्न ४ बजेसम्म कार्यरत रहने निर्णय गरेको छ। विशेष परिस्थितिमा १०ः१५ बजेसम्म उपस्थित हुन सकिने भए पनि सोभन्दा ढिलो भए आवश्यक कारबाही गर्ने निर्णय गरेको छ।
त्यसैगरी, विद्यालय सञ्चालन अवधिमा कार्यप्रयोजनका लागि मात्र मूल गेट खोल्ने र अन्य समयमा बन्द राख्ने, छुट्टीपछि अर्को दिन विद्यालय खुल्ने समयसम्म मूल गेट तथा सबै कक्षाकोठामा ताल्चा लगाउने निर्णय भएको छ। अनुमति नलिई विद्यार्थी विद्यालयबाट बाहिरिएमा सम्बन्धित कक्षा शिक्षकले विद्यार्थीको सम्पर्क नम्बर तथा विवरण तयार गरी अभिभावकलाई विद्यालयमा बोलाएर आवश्यक जानकारी लिने व्यवस्था पनि गरिएको छ।
कर्मचारीले स्वीकृतिबिना बिदामा बस्न नपाउने, निर्धारित मापदण्डअनुसार विद्यार्थी संख्या नपुगेमा शिक्षक दरबन्दी कट्टा हुन सक्ने, नेपाली तथा अंग्रेजी विषयका शिक्षकले विद्यार्थीको दैनिक हस्तलेखन जाँच गर्ने, प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने र नियमित रूपमा बढी उपस्थिति हुने विद्यार्थीलाई कक्षा शिक्षकको सिफारिसमा पुरस्कृत गर्ने निर्णयसमेत गरिएको छ।
विद्यालयसँग सम्बन्धित फोटो वा भिडियो टिकटक, रिल वा अन्य सामाजिक सञ्जालमा राख्दा विद्यालयको हित हुने सामग्री मात्र राख्नुपर्ने र त्यस्ता सामग्री व्यक्तिगत आइडीबाट नभई विद्यालयको नाममा सञ्चालित आधिकारिक फेसबुक पेजबाट मात्र प्रकाशन गर्ने निर्णय गरिएको छ। साथै, पूर्वनिर्धारित रुटिनमा आवश्यक सुधार गर्ने निर्णयसमेत बैठकले गरेको छ।
विद्यालय व्यवस्थापन समितिका सदस्यहरू विक्रमनारायण यादव, संगीता राई, सन्जिता पासमान तथा सदस्य–सचिव एवं प्रधानाध्यापक कासेन्द्रप्रसाद यादवसहित शिक्षक–कर्मचारीहरूको सहभागितामा बैठक सम्पन्न भएको थियो।
यसैबीच, श्री रामा महन्थी यादव जनता माध्यमिक विद्यालयको २०८२ सालको एसईई नतिजा हालसम्मकै उत्कृष्ट रहेको विद्यालयले जनाएको छ। उक्त परीक्षामा विद्यालयका नौ जना विद्यार्थीले ए प्लस ग्रेड ल्याएर उत्तीर्ण भएका थिए।
विद्यालयका प्रधानाध्यापक कासेन्द्र प्रसाद यादवको समर्थन र शिक्षक सूर्यनारायण यादवको अगुवाइमा शिक्षकहरू एलबी यादवले नेपाली तथा अंग्रेजी, मावि खरुक्याहीका शिक्षक जगदीश यादवले गणित र डोटीका देहीमाडौंको एक विद्यालयमा २५ वर्षसम्म अध्यापन गरेका विज्ञान शिक्षक यामुनाप्रसाद यादवले विज्ञान विषय अध्यापन गरेका थिए। नियमित, अनुशासित तथा अध्यापनरत कोचिङ कक्षाका शिक्षकहरूको लगनशीलताले उत्कृष्ट नतिजा ल्याउन महत्वपूर्ण सहयोग पुगेको प्रधानाध्यापक कासेन्द्रप्रसाद यादवले नतिजा प्रकाशनपछि बताएका थिए।















