लहान,६ असोज।
लाल बिहारी यादब सिरहादर्पन
लहान नगरपालिकाले बजार क्षेत्रको स्तरोन्नति तथा सौन्दर्यीकरण आयोजना कोकार्य सुरु गरेको छ। वडा नं. ७ र ८ को बीचमा रहेको घण्टाघर भवन परिसरमा मंगलबार बिहान ८ बजे नगरप्रमुख महेश प्रसाद चौधरीले सौन्दर्यीकरण आयोजनाको शिलान्यास गर्नुभएको हो।
रु.१० करोड २३ लाख २१ हजार २ सय १८ रुपैयाँ ५४ पैसा लागतमा सञ्चालन हुने आयोजनाको ठेक्का K & K G – Indreni – Biswojit JV, काठमाडौं ले पाएको छ। सम्झौता मिति २०८३/०६/०१ र सम्पन्न गर्नुपर्ने मिति २०८४/०६/०१ तोकिएको छ। यद्यपि निर्माण कम्पनीले आगामी चैत मसान्तसम्ममै काम सम्पन्न गर्ने जानकारी दिएको नगरप्रमुख चौधरीले बताउनुभयो।
‘लहान सीबीए (CBA) को स्तरोन्नति तथा सौन्दर्यीकरण’ नाम दिइएको आयोजनाअन्तर्गत सडक नं.१,सडक नं.२ तथा दुर्गा मन्दिर क्षेत्रको स्तरोन्नति तथा सौन्दर्यीकरण गरिनेछ।
नगरप्रमुख चौधरीले लहानलाई ‘ग्रीन सिटी’को पहिचान दिने गरी सुन्दर सडक, व्यवस्थित फुटपाथ, सडकबत्ती, पार्किङ, हरियाली तथा व्यवस्थित बजार निर्माणमा जोड दिइएको बताउनुभयो। उहाँका अनुसार व्यवस्थित र आकर्षक बजारले ग्राहक, बाह्य आगन्तुक तथा पर्यटकलाई आकर्षित गर्नुका साथै व्यापार–व्यवसाय र स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउन सक्छ।
शिलान्यास कार्यक्रममा लहान नगर कार्यपालिकाका अधिकृतस्तरका कर्मचारी, वडा नं. ७ का वडाध्यक्ष रामअवतार शर्मा, वडा नं. ८ का वडाध्यक्ष श्याम साह भोरेभोर, नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति मनोज बनैता, समाजसेवी, बुद्धिजीवी तथा दर्जनौँ पत्रकारको उपस्थिति थियो। उपस्थित पत्रकार, नेतागण तथा कर्मचारीलाई नगरप्रमुख चौधरीले माला र गम्छा लगाएर सम्मान गर्नुभएको थियो।















