लाल बिहारी यादब, सिरहादर्पन- लहान (सिरहा) । 

हालैका प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले सिरहाको लहानस्थित लहान विद्या मन्दिर इङ्गलिस बोर्डिङ स्कुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ।

लहान नगरपालिका–१, दक्षिण नहरपारि अवस्थित उक्त निजी विद्यालयले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिक तथा परिवारहरूको साथमा उभिने सामाजिक र मानवीय उद्देश्यका साथ सहयोग रकम प्रदान गरेको जनाएको छ।

हाल कक्षा ८ सम्म अध्ययन–अध्यापन सञ्चालन गर्दै आएको लहान विद्या मन्दिरले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै विपद्पीडितका लागि सहयोग गरेको हो।

विद्यालयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्षितिज सिंहले ‘LVM Stands With Nepal’ भन्ने सन्देशसहित विपद्को कठिन समयमा एकजुट भएर सहयोगको आवश्यकता भएका परिवारहरूको साथ दिनु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।

उनले विद्यालयको सानो सहयोगले प्राकृतिक विपद्का कारण कठिन परिस्थितिमा रहेका परिवारहरूलाई केही राहत, आशा र हौसला मिल्ने विश्वास व्यक्त गरे।

“विपद्मा परेकाहरूको साथमा उभिनु नै साँचो मानवता हो,” सिंहले भने, “यही मानवीय भावना र सहयोगको भावनासहित लहान विद्या मन्दिरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो।”

विद्यालयकी प्रिन्सिपल कविता सिंह नेपाली विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेकी छन्। उनको नेतृत्वमा विद्यालयले विद्यार्थीको शैक्षिक विकाससँगै सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई पनि महत्व दिँदै आएको विद्यालयले जनाएको छ।

प्राकृतिक विपद्ले प्रभावित परिवारहरू कठिन अवस्थामा रहेका बेला लहान विद्या मन्दिरको सहयोगले विपद्को समयमा शैक्षिक संस्थाहरूले समेत सामाजिक उत्तरदायित्व र मानवीय सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने सन्देश दिएको छ।

लहान विद्या मन्दिरले आफ्नो सहयोग सानो भए पनि त्यसले विपद्पीडित परिवारहरूको जीवनमा राहत, आशा र हौसला थप्ने विश्वास व्यक्त गरेको छ।