लाल बिहारी यादब,सिरहादर्पन।
लहान, साउन १६ — नेपाल आयुर्वेद औषधि व्यवसायी संघ जिल्ला कार्य समिति सिरहा, लहानले सुनसरीको कप्तानगञ्ज लगायत तराई–मधेशका विभिन्न जिल्लामा पछिल्लो समय देखिएको तनावपूर्ण अवस्था, श्रृंखलाबद्ध घटनाक्रम र सामाजिक असहिष्णुताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघका अध्यक्ष प्रिय रञ्जन उपाध्याय (मुनाजी) द्वारा हिजो शुक्रबार जारी विज्ञप्तिमा नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी भएको उल्लेख गर्दै विशेषगरी तराई–मधेश क्षेत्र विभिन्न समुदायबीचको आपसी सद्भाव, सहिष्णुता र भाइचाराको प्रतीक रहेको बताइएको छ।
विज्ञप्तिमा कुनै पनि बहानामा हुने झगडा, हिंसा वा सामाजिक अशान्तिले कसैको हित नगर्ने उल्लेख गर्दै यस्ता घटनाले सामाजिक सद्भावमा खलल पुग्नुका साथै सर्वसाधारणको दैनिक जीवन, उद्योग, व्यवसाय, व्यापार तथा समग्र आर्थिक गतिविधिमा गम्भीर नकारात्मक असर पार्ने जनाइएको छ।
संघले सामाजिक सद्भाव, शान्ति र स्थायित्व नै मुलुकको समृद्धि तथा आर्थिक विकासको आधार भएको उल्लेख गर्दै सबै प्रकारका मतभेद र विवादको समाधान वार्ता, संवाद तथा आपसी समझदारीबाट मात्रै सम्भव हुने विश्वास व्यक्त गरेको छ।
साथै, कप्तानगञ्ज लगायत प्रभावित क्षेत्रमा शान्ति–सुरक्षाको पूर्ण प्रत्याभूति गराउन स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग माग गर्दै संघले नागरिकलाई कुनै पनि प्रकारका भ्रम, अफवाह र उत्तेजनाबाट टाढा रही संयमता अपनाउन तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।
संघले वर्तमान तनावपूर्ण अवस्थालाई तत्काल साम्य पार्दै दिगो शान्ति स्थापना गर्न सरकार, सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारकर्मी तथा स्थानीय अगुवाहरूले जिम्मेवार र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ। अध्यक्ष प्रिय रञ्जन उपाध्यायले सबै पक्षलाई सामाजिक एकता, भाइचारा र सहिष्णुता सुदृढ बनाउन सक्रिय भूमिका खेल्न हार्दिक अपिल गरेका छन्।














