लाल बिहारी यादब,सिरहादर्पन 

७ श्रावण २०८३ 

आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटेका टोलीले  उनलाई घुस रकमसहित रंगेहात पक्राउ गरेका हुन्।सिरहा सुपरमार्केट प्राइभेट लिमिटेडको २०७८/०७९ को पुर्व कर परिक्षण गर्ने क्रममा अधिकृत पालले अन्य व्यक्तिलाई समेत मिलाउनुछ पर्ने भन्दै ५ लाख रुपैयाँ घुस मागेको जनाएको छ। पालले घुस दिएपछि मात्र अडिट प्रक्रिया अगाडि बढाउने भन्दै कम्पनीसंग आवश्यक सबै कागजात पेश गराएको जनाएको छ ।अधिकृत पालले शुरुमा १२ लाख रुपैयाँ दिए सबै समस्याको समाधान गरिदिने प्रस्ताव राखेको र कम्पनीले आर्थिक अवस्था कमजोर रहेको बताए पछि रकम घटाएर पाँच लाख रुपैयामा सहमति गर्न खोजेको आरोप छ। आज कार्यालयमै पाँच लाख रुपैयाँ बुझ्ने क्रममा प्रहरीले पाललाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास ले जनाएको छ। घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धान अघि बढाएको जनाएको छ। आज विहिवार अपरान्ह ३:५० बजे सम्म अधिकृत पाललाई लहान प्रहरीले  उक्त राजस्व कार्यालय भित्रै नियन्त्रणमा लिई कार्यवाही प्रक्रिया लगायतका लागि लेखापढि तथा मुचुल्का लगायतका काम भइरहेको प्रहरि स्रोतले जनाएको छ।