लाल बिहारी यादब
ढल्केबर - धनुषा , असार २ — आमसंचार प्राधिकरण मधेश प्रदेश जनकपुरधामा दर्ता भएका विभिन्न अनलाइन सञ्चारमाध्यमका सम्पादकहरूको सहभागितामा आम सञ्चार प्राधिकरण, मधेश प्रदेशद्वारा आयोजित एकदिने अन्तरक्रिया कार्यक्रम धनुषाको ढल्केवरस्थित कोमल होटलमा सम्पन्न भएको छ।
कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाबाट अनलाइन सञ्चारमाध्यमका सम्पादकहरूको आशाजनक उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता आम सञ्चार प्राधिकरण, मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाले गरेका थिए। अध्यक्ष खड्गाले सञ्चार क्षेत्रलाई सबल, समृद्ध तथा व्यावसायिक बनाउन प्राधिकरणले सरकारसँग निरन्तर समन्वय र पहल गरिरहेको बताउँदै सञ्चारमाध्यमको दिगो विकासका लागि आवश्यक नीतिगत सुधार र सहयोगको आवश्यकता औँल्याए।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ धनुषा शाखाका सभापति पुरन गुप्ताले डिजिटल पत्रकारिताको प्रभाव बढ्दै गएको सन्दर्भमा अनलाइन सञ्चारमाध्यमलाई थप जिम्मेवार, विश्वसनीय र तथ्यपरक बनाउन सरकारले आर्थिक सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे। सहभागी सम्पादकहरूले सञ्चारमाध्यम सञ्चालनमा आर्थिक कठिनाइ, विज्ञापन अभाव तथा प्राविधिक चुनौतीहरूबारे आफ्नो अनुभव र गुनासो प्रस्तुत गरेका थिए।
आम सञ्चार प्राधिकरणका प्रशासकीय प्रमुख सन्तोष कुमार साहले मधेश प्रदेशका सञ्चारमाध्यम तथा सञ्चालकहरूलाई उपलब्ध स्रोत र साधनका आधारमा सहयोग गरिँदै आएको उल्लेख गर्दै आगामी दिनमा सहयोगका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
विज्ञ पत्रकार अनिल कर्णको विशेष सहजीकरणमा सञ्चालित कार्यक्रममा सम्पादन कला, समाचारको विश्वसनीयता, डिजिटल पत्रकारिताका चुनौती तथा अवसरलगायत विषयमा व्यापक छलफल र अनुभव आदानप्रदान गरिएको थियो। सहभागीहरूले कार्यक्रमलाई ज्ञानवर्द्धक, उपलब्धिमूलक तथा सञ्चार क्षेत्रको क्षमता अभिवृद्धिमा सहयोगी भएको बताएका छन्।














