लाल बिहारी यादब, सिरहा दर्पण
सिरहा, जेठ २९।
धनगढीमाई नगरपालिका, सिरहाको आयोजनामा व्यक्तिगत घटना दर्ता सम्बन्धी दुईदिने तालिम कार्यक्रम बिहीबारदेखि जनता माध्यमिक विद्यालय बेतहा भवानीपुरमा सुरु भएको छ।
नगरपालिकाभित्रका ८ वटा माध्यमिक विद्यालयका माध्यमिक तहका विद्यार्थीहरूको सहभागिता रहेको उक्त तालिमको पहिलो दिन बिहान ११:०० बजेदेखि सुरु भई बेलुका ३:०० बजे सम्पन्न भएको थियो। कार्यक्रमको सहजीकरण होस्ट विद्यालयका प्रधानाध्यापक श्री रामविलास यादवले गर्नुभएको थियो।
तालिममा जन्म, मृत्यु, बसाइँसराइ, विवाह, सम्बन्ध विच्छेद लगायतका व्यक्तिगत घटनाहरू समयमै स्थानीय पञ्जिकाधिकारीमार्फत दर्ता गराउनुपर्ने आवश्यकता, दर्ता प्रक्रियाका चरणहरू, जिम्मेवार व्यक्तिहरू तथा त्यसबाट प्राप्त हुने कानुनी, सामाजिक र प्रशासनिक लाभबारे जानकारी प्रदान गरिएको थियो। साथै यस्ता घटनाहरू समयमै दर्ता नगराउँदा पर्न सक्ने समस्याबारे पनि विद्यार्थीहरूलाई सचेत गराइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि धनगढीमाई नगरपालिकाका नगरप्रमुख श्री शिवशंकर महतो रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा नगर उपप्रमुख श्री संगीता कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत श्री मोहन निरौला सहभागी हुनुभएको थियो।
त्यसैगरी शिक्षा शाखा प्रमुख श्री हरिनारायण सिंह, आर्थिक प्रशासन शाखा प्रमुख श्री प्रभु नारायण यादव, कम्प्युटर अधिकृत श्री कृष्णकुमार महतो, इन्जिनियर श्री पंकज सिंह, पञ्जीकरण शाखाका कर्मचारीहरू तथा होस्ट विद्यालयका शिक्षक–कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।
भविष्यका जिम्मेवार नागरिकका रूपमा विद्यार्थीहरूलाई व्यक्तिगत घटना दर्ताको महत्वबारे सचेत गराउने उद्देश्यले आयोजना गरिएको उक्त तालिम प्रभावकारी र उपलब्धिमूलक रहेको सहभागीहरूले बताएका छन्।
कार्यक्रमको सफल आयोजनाका लागि जनता माध्यमिक विद्यालय बेतहा भवानीपुर परिवारले धनगढीमाई नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, पदाधिकारी तथा सम्बन्धित शाखाहरूप्रति आभार व्यक्त गरेको छ।














