एलवी यादब लहान सिरहा। रक्तदानसम्बन्धी चेतना ग्रामीण क्षेत्रमा समेत उल्लेखनीय रूपमा बढ्दै गएको छ। गणतन्त्र दिवस–२०८३ को अवसरमा लहान नगरपालिका–२२ स्थित बर्छवा टोलमा आयोजित रक्तदान कार्यक्रममा तीन दर्जनभन्दा बढी व्यक्तिले स्वेच्छिक रक्तदान गरेका छन्।

श्री बर्छवा सामुदायिक युवा मञ्च, लहान–२२ बर्छवाद्वारा गत जेठ १६ गते शनिबार आयोजित कार्यक्रममा तीन दर्जन भन्दा बढी स्थानीय युवा, समाजसेवी तथा विभिन्न क्षेत्रका नागरिकहरूले रक्तदान गरेका हुन्। श्री आधारभूत विद्यालय बर्छवा परिसरमा सम्पन्न कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी, जिल्ला रक्तसञ्चार सेवा केन्द्र, लहानले प्राविधिक सहयोग प्रदान गरेको थियो।
मञ्चका अध्यक्ष दिलीप कुमार चौधरीले रक्तदानबाट कसैको जीवन रक्षा हुने भएकाले यसलाई मानव सेवाको सर्वोच्च कार्यका रूपमा लिनुपर्ने बताए। “रक्तदान जीवनदान हो। रगतको अभावमा कुनै पनि बिरामीले दुःख पाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौं,” उनले भने। कार्यक्रममा अपेक्षाभन्दा बढी उत्साहजनक सहभागिता रहेको उनको भनाइ थियो।
हाल जे.एस. मुरारका बहुमुखी क्याम्पस, लहानमा प्राध्यापनरत अध्यक्ष चौधरीका अनुसार संस्थाले विगतदेखि रक्तदान, सरसफाइ, जनचेतनामूलक अभियान तथा अन्य सामाजिक गतिविधिहरू निरन्तर सञ्चालन गर्दै आएको छ। आगामी दिनमा पनि समाजहितका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइने उनले बताए।
सहभागीहरूले रक्तदानलाई मानव जीवन बचाउने महान कार्यका रूपमा व्याख्या गर्दै यसलाई “सर्वोत्तम मानव धर्म” समेत बताएका छन्। स्थानीय युवाको सक्रिय पहलमा सम्पन्न कार्यक्रमले सामाजिक उत्तरदायित्व, मानवीय सेवा र सामुदायिक एकताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको आयोजकको भनाइ छ।
ग्रामीण क्षेत्रमै यस्ता जनहितकारी कार्यक्रमको सफल आयोजना हुनु रक्तदानप्रतिको बढ्दो सचेतना र सामाजिक सेवाप्रतिको सकारात्मक सोचको संकेत भएको स्थानीयवासीहरूले बताएका छन्। रक्तदानलाई कतिपयले मानव धर्मको संज्ञा दिएका थिए।















