बोदे बर्साईन , सप्तरी : १ माघ सप्तरीको बोदे बर्साईन नगरपालिकामा राजबिराज नगरपालिकाको सरकारी गाडीले ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ झ ४८१ नम्बरको स्कारपियोले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३० प २७३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटना बोदे बर्साईन नगरपालिका–5 हुलाकी सडकको विद्युत् प्राधिकरण जाने बाटोमा भएको हो।
दुर्घटनामा बोदे बर्साईन नगरपालिका–1 घनगडी निवासी १५ वर्षीय मोटरसाइकल चालक राजेश कुमार यादव र सोही ठाउँ निवासी २१ वर्षीय अजित कुमार यादव गम्भीर घाइते भएका छन्। घाइतेहरूको उपचार हाल बोदे बर्साईनस्थित जीवन ज्योति हस्पिटल प्रा.लि.मा भइरहेको छ। घाइतेहरूको स्वास्थ्य अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय बोदे बर्साईनका प्रमुख प्रहरी सहायक निरीक्षक दिपेन्द्र पासवानले जानकारी दिए।
प्रहरीले सरकारी गाडी स्कारपियोलाई नियन्त्रणमा लिए पनि चालक भने घटनास्थलबाट फरार रहेका छन्। चालकको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको र दोषीलाई कानूनी कारबाही गरिने पनि प्रहरीद्वारा जनाइएको छ।
यस दुर्घटनाले सरकारी गाडीको दुरुपयोग र यातायात सुरक्षाको स्थितिमा गम्भीर प्रश्न खडा गरेको छ। स्थानीयवासीले घटनाप्रति चिन्ता व्यक्त गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।














