लहान, असोज २७ ।लाल बिहारी यादब सिरहादर्पन
थारू समुदायको मौलिक कला, संस्कृति, भाषा, परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सिरहाको लहानमा ‘दशैं–तिहार उत्सव मेला–२०८३’ सुरु भएको छ। मंगलबार लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको बाहिरी मैदानमा आयोजित विशेष समारोहबीच मेलाको समुद्घाटन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले स्थानीय स्तरमा उत्पादित अर्गानिक तरकारी, परिकार तथा वस्तुको प्रयोगले पूर्वदेखि पश्चिमसम्मका नेपालीको मन जित्न सफल भएको बताए। थारू समुदायका मौलिक परिकारप्रति स्थानीयवासीसमेत आकर्षित हुँदै गएको उल्लेख गर्दै उनले यस्ता मेलाले थारू समुदायको कला, संस्कृति र पहिचानलाई थप अगाडि बढाउन सहयोग पुग्ने धारणा राखे।
समाज विभिन्न जातजाति र समुदायका फरक–फरक संस्कृति तथा परम्पराले बाँधिएको उल्लेख गर्दै नगरप्रमुख चौधरीले यस मेलाले सबै समुदायलाई समेट्ने विश्वास व्यक्त गरे। साथै उनले आयोजकलाई कार्यक्रम सफल बनाउन प्रेरणा दिँदै शुभकामनासमेत व्यक्त गरे।
विशिष्ट अतिथि लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोले मेलाले हराउँदै गएका पुराना सांस्कृतिक परम्परालाई पुनः जीवन्त बनाउने काम गरेको बताए। विगतमा विवाहका बेला बेहुला–बेहुली पालकीमा आउने–जाने र जन्तीहरू बैलगाडामा जाने चलन अहिले सम्झनामा मात्र सीमित भएको उल्लेख गर्दै उनले यस्ता परम्पराको संरक्षण आवश्यक रहेको बताए।
स्थानीय स्तरमै मेला तथा महोत्सव आयोजना गर्दा संस्कृति संरक्षणसँगै आयआर्जन र स्थानीय कला प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनको भनाइ थियो। मेलालाई थप व्यवस्थित र प्रभावकारी बनाउन लहान नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराए आफू पूर्ण रूपमा सहमत रहनेसमेत उपप्रमुख महतोले बताए।
धनगढीमाई नगरपालिकाका पूर्वप्रमुखले कला र संस्कृतिको संरक्षणसँगै राजनीतिक अधिकार पनि समावेशी आधारमा सुनिश्चित हुनुपर्नेमा जोड दिए। थारू समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै पुरानो पुस्ताबाट नयाँ पुस्तामा मौलिक परम्परा हस्तान्तरण गर्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै, विशिष्ट अतिथि सुरुङ्गा नगरपालिकाकी प्रमुख गीता चौधरीले महिला दिदीबहिनीहरू कार्यक्रमस्थलबाट घर फर्किन लागेको प्रसंग उल्लेख गर्दै महिलाको सहभागिता र सशक्तीकरणमा जोड दिइन्। आगामी स्थानीय निर्वाचनमा थारू समुदायका उम्मेदवारलाई निर्वाचित गराउन समुदायका महिला तथा सबैको भूमिका महत्त्वपूर्ण हुने उनको धारणा थियो। उनले आगामी पुस पूर्णिमाका दिन थारू समुदायका परम्परागत परिकार तथा सांस्कृतिक गतिविधिलाई पनि प्राथमिकता दिनुपर्ने बताइन्।
कार्यक्रमको अध्यक्षता गरेका थारू कल्याणकारिणी सभाका केन्द्रीय कार्यवाहक अध्यक्ष रामप्रसाद चौधरीले थारू समुदायका बालबालिकालाई शिक्षामा विशेष जोड दिनुपर्ने बताए। युवापुस्तालाई लागुऔषधको दुर्व्यसनबाट जोगाउँदै शिक्षा, चेतना र सकारात्मक सामाजिक गतिविधिमा जोड्नुपर्ने उनको भनाइ थियो।
थारू कल्याणकारिणी सभा सिरहा, लहानको आयोजनामा तथा आयोजक समितिका मूल संयोजक दशमीलाल चौधरीको संयोजनमा सुरु भएको मेला आगामी कात्तिक ८ गतेसम्म सञ्चालन हुनेछ।
मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका विभिन्न कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। सांस्कृतिक प्रस्तुति, थारू समुदायका मौलिक परिकार, स्थानीय उत्पादन तथा विविध मनोरञ्जनात्मक गतिविधि मेलाका मुख्य आकर्षण रहनेछन्।
मेलामा प्रवेशका लागि प्रतिव्यक्ति १०० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा लहान नगरपालिकाका २४ वटै वडाका वडाध्यक्षहरूलाई आमन्त्रण गरिएको थियो। केही वडाध्यक्षबाहेक अधिकांशको उपस्थिति रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा उपस्थित सम्पूर्ण पत्रकारहरूलाई आयोजकले सम्मानसमेत गरेको थियो।
थारू समुदायको मौलिक पहिचान, संस्कृति र परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तामाझ परिचित गराउने तथा स्थानीय स्तरमा आर्थिक र सांस्कृतिक गतिविधि विस्तार गर्ने अपेक्षासहित मेला आयोजना गरिएको हो।













